राप्रपाका मन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टिकरण सोध्ने



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता विरोधी अभिव्यक्ति दिने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवहादुर प्रधानलाई स्पष्टीकरण सोध्ने भएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्त्री प्रधानको अभिव्यक्तिमाथि प्रश्न उठेपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यले संघीयता र गणतन्त्र विरोधी अभिव्यक्ति दिन नपाउने बताएका हुन्।

कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले संघीयताबारे सरकारको धारणा मागेकी थिइन्। ‘कानुनमन्त्रीले एक टेलिभिजन अन्तरवार्तामा संघीयता खारेजी गर्नुपर्छ भन्नु भयो। संघीयताप्रति सरकारको धारणा के हो? संघीयता कार्यान्वयन हुन्छ भन्नेमा हामी कति विश्वस्त हुने हो रु म सरकारको धारणा माग्न चाहन्छु,’ उनको प्रश्न थियो।

एकीकृत समाजवादीकी सांसद जयन्ती राई र कांग्रेस सांसद युवराज शर्माले संघीयताबारे सरकारको धारणा मागेका थिए। जवाफमा प्रधानमन्त्री प्रचण्डले भने ‘मैले त यो कुरा प्रत्यक्ष हेरेको पनि होइन। मेरै क्याबिनेटको एकजना मन्त्रीले संघीयता खारेज गर्नुपर्छ भनेर यहाँ सुनाउनुभयो। मेरो गम्भीर ध्यानाकर्षण भएको छ। संघीयता खारेज गर्नुपर्‍यो भन्ने कुरा मन्त्रीले उठायो र सांसदले उठाउनु भयो यो स्पष्टीकरणको विषय हुन्छ।’

मन्त्रिपरिषद्भित्र रहेर संघीयता र लोकतन्त्र गणतन्त्रविरुद्ध अभिव्यक्ति दिन नमिल्ने उनको भनाइ छ। ‘सांसदहरू वा बाहिर रहेकाहरूलाई आफ्ना धारणा राख्न पाइन्छ तर मन्त्रिपरिषद्भित्र रहेर त्यो गर्न पाइँदैन। मन्त्रिमण्डलभित्र बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध बोल्ने र प्रचार गर्ने अधिकार नैतिक र कानुनी रूपले हुन सक्दैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

के भनेका थिए मन्त्री प्रधानले?

कानुनमन्त्री ध्रुवबहादुर प्रधानले केही दिनअघि एक टेलिभिजन कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेण्डा नै संघीयता खारेजी रहेको भन्दै त्यही अनुसार अगाडि बढ्ने बताएका थिए।

‘हामीले सकेसम्म हामीले गणतन्त्र, संघीयता र धर्मपनिरपेक्षा खारेजी गर्ने हो। यो नेपालका लागि उपयोगी छैन भन्ने कुरामा हामी प्रस्ट छौं,’ उनले भनेको थिए, ‘अहिले नै यो सबै हुने अवस्था छैन। तर हामी लागि राख्छौं। यिनीहरू खारेजीका लागि राख भनेर अभिमत दिनु भएको छ।’ कानुनमन्त्री प्रधानले अगाडि भने ‘सरकारमा जाँदैमा संघीयता खारेजीको माग छाडेको होइन । हामी सरकारमै बसेर त्यो मुद्दालाई बलियो ढंगले उठाउँछु। संघीयता ठिक छैन भनेर अन्य दललाई पनि कनभेन्स गर्छौँ।’

यस्तै उपप्रधान तथा उर्जामन्त्री समेत रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि व्यवस्था विरोधी अभिव्यक्ति दिएका छन्। सोमबार झापामा लिङदेनले सरकारमा गएर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षाविरुद्ध अभिव्यक्ति दिएका थिए।