काठमाडौँ। प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने भएको छ।
भागबन्डामा खानेपानी मन्त्रालय पाएको जनमत त्यसप्रति असन्तुष्ट भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबारसम्म त्यसको टुङ्गो लगाउने भनिएको थियो तर अब त्यो भाका सोमबारलाई सरेको छ ।
जनमत पार्टीका प्रवक्ता समेत रहेका खानेपानी मन्त्री अब्दुल खानले मन्त्रालयको विषयमा सोमबार मात्र टुङ्गो लगाउने कुराकानी भएको बताए । उनले भने, आज बिदा भएको कारण त्यसमा खासै कुराकानी हुन नसक्ने भएकाले सोमबार मन्त्रालयको टुङ्गो लगाउने भनी कुरा आएको छ ।
प्रधानमन्त्री प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतका बीचमा कुराकानी हुनसक्छ तर त्यसको विषयमा अझै टुङ्गो लागेको छैन भन्दै उनले आज सत्ताधारी दलका अध्यक्षहरूको बीचमा आज बालुवाटारमा छलफल हुने भनिएको छ त्यहाँ पनि जनमत पार्टीलाई दिइने मन्त्रालयको विषयमा कुराकानी हुनसक्ने सम्भावना रहेको बताए ।