काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको लागि औपचारिक सम्वाद सुरु भएको छ।
आइतबार दुई पार्टीद्वारा गठित वार्ता समितिहरुको आज नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाडामा पहिलो बैठक बसेको छ।
एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा वार्ता टोलिका सदस्य प्रकाश ज्वालाका अनुसार आइतबार बसेको बैठकपे पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारीलगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल भएको छ।
उनका अनुसार साथै दुई पार्टीबीच पार्टीका दस्तावेजहरु आदान-प्रदान गरिएको छ। वार्ता सकारात्मक रहेको र दुई पार्टीबीचको सम्वादलाई निरन्तरता दिने सहमति भएको छ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट वार्ता समितिका संयोजक कृष्ण बहादुर महरासहित गिरिराज मणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वार्ता समितिका संयोजक बेदुराम भुसालसहित प्रकाश ज्वाला र विजय पौडेलको सहभागिता रहेको थियो।