प्रभावित उडान-अवतरण सामान्य बन्दै



काठमाडौं। काठमाडौंको त्रिभुवन विमानस्थलमा शुक्रबार बिहानैबाट प्रभावित भएको उडान–अवतरण सामान्य बन्दै गएको छ।

काठमाडौं विमानस्थलमा बिहान भिजिविलिटी १५ सय मिटर भन्दा कम हुँदा अधिकांश आन्तरिक र बाह्य उडानका जहाजको उडान प्रभावित भएको थियो।

विमानस्थल कार्यालयका अनुसार अहिले भिजिविलिटी ३ हजार मिटर पुगेको छ। जसले गर्दा उडान सामान्य बनेको छ। यसअघि अवतरण गर्ने जहाजहरु भीएफआर प्रणालीबाटै अवतरण गराउनु परेको छ। जसले गर्दा अवतरणलाई केही समय लाग्ने हुँदा आकाशमा जहाजहरु लाइनमा बस्नु परेको थियो।

अहिले भने होल्डमा रहेका सबै जहाज अवतरण भइसकेका छन्। आज बिहान नेपालगन्जबाट आएको श्री एयरलाइन्सको जहाजलाई भद्रपुर पठाइएको थियो। क्वालालाम्पुरबाट आएको जहाजलाई कोलकाता पठाइएको थियो । अन्य उडानका जहाज भने होल्डपछि अवतरण भएका छन्।