राष्ट्रपति निर्वाचनमा माओवादीको साथ पाउने आशमा कांग्रेस



काठमाडौँ। संसदको ठूलो दल नेपाली कांग्रेसले दोस्रो दल नेकपा एमालेलाई दखल दिने नीति लिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा प्रतिस्पर्धा गर्यो। सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार सभामुखमा एमालेका देवराज घिमिरेविरुद्ध विपक्षी मोर्चा बनाएर कांग्रेस प्रतिस्पर्धामा आयो।

बिहिबार भएको सभामुखको निर्वाचनमा कांग्रेसले देवराजविरुद्ध ईश्वरीदेवी न्यौपानेलाई मैदानमा उतार्यो। चुनाव ताकाको सहयात्री माओवादी केन्द्रलाई बोकेर नयाँ समीकरण बनाएपछि एमालेविरुद्ध कांग्रेसले आक्रोशित सुनिन्छ।

एमालेविरुद्धको मार्चामा कांग्रेस सभामुखमा रणनीतिक रुपमा सफल भएन। परिणाम एमालेको पक्षमा आएको छ। एमालेका सांसद घिमिरे सभामुखमा निर्वाचित भएका छन्। प्रतिनिधिसभा बैठकमा उपस्थित २६८ जनामध्ये १६७ जनाको मत पाएर घिमिरे सभामुख बन्न सफल भए। एक जना सांसद तटस्थ बसे।

सात दलीय सत्ता गठबन्धन र तीन जना स्वतन्त्र सांसदको मत घिमिरेले पाउँदा न्यौपानेलाई कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले साथ दिएका दिए । सभामुखको निर्वाचनबाट कांग्रेसको नेतृत्वमा चार दलीय विपक्षी मोर्चा बनेको छ । शनिबार हुने उपसभामुखको निर्वाचनमा पनि विपक्षी मोर्चाले उम्मेदवार खडा गर्ने नेताहरु बताउँछन् ।

सभामुखमा कांग्रेसले उम्मेदवारी दिएकाले विपक्षी गठबन्धनबाट एकीकृत समाजवादीले उपसभामुखमा उम्मेदवार दिने बुझिएको छ । सात दलीय गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिने छ । विपक्षी मोर्चाले उपसभामुखमा पनि परिणाम हात पार्ने सम्भावना न्युन छ । यही माघभित्र हुने राष्ट्रपति निर्वाचनसम्म सत्तासीन माओवादीको साथ पाउने विपक्षी मोर्चाको आशा छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन् । ‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति देख्न पाउनुहुनेछ’, शर्माको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जनाएअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने शर्माको दाबी थियो ।

बिहीबार संसद भवनबाट पनि शर्माले जनताले सरकार र शीतलनिवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई पहिलो दल बनाएको बताए । उनले भने, ‘अहिले हाम्रो सरकारमा जाने ध्यान छैन । तर, सबैभन्दा ठुलो दल भएकाले सभामुख, प्रधानमन्त्री या राष्ट्रपतिमा उम्मेदवारी दिने र बन्नेतर्फ लाग्नु सत्ताभित्रको साझेदारीको रुपमा बुझ्नुहुँदैन ।’

राष्ट्रपतिको निर्वाचनमा परिणाम हासिल गर्नेगरी तयारी लाग्न शर्माका भनाइ छ । यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले भने कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार दिने भन्दै आजैदेखि समर्थन जुटाउने प्रयास लाग्ने बताए । ‘नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । आजसम्मको परिस्थिति हेर्दा सहमति हुने सम्भावना देखिँदैन । तर राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका निम्ति समर्थन जुटाउने प्रयास चाहिँ आजैदेखि गर्छौं,’ उनले भने ।

यस्तै कांग्रेस सांसद चन्द्र भण्डारीले सभामुख चुनावमा मिसन सफल नभए पनि राष्ट्रपतिको चुनावमा सफल हुने बताए । ‘हामी चार वटा पार्टी गठबन्धनमा भएका थियौं । सरकार बनाउने बेलामा त्यो टुट्यो,’ उनले भने, ‘आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरहन्छ, त्यो निरन्तर प्रक्रिया हो । मिसन सभामुख थियो, त्यो भएन । अब मिसन राष्ट्रपतिमा हुन्छ ।’

यता कांग्रेस संसदीय दलका मुख्यसचेतक रमेश लेखकले विपक्षी दलहरुसँग छलफल गरेर एकतावद्ध बनेर आगामी रणनीति तय गर्ने बताए । ‘आज नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चा चार पार्टी एकै ठाउँमा छौं । करिब करिब हिजोको गठबन्धन कायम राखेका छौं,’ उनले भने ।

उनका अनुसार संविधानतः दलभन्दा माथि रहेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदमा प्रधानमन्त्री प्रचण्डबाट सर्वदलीय बैठकमा आएको राष्ट्रिय सहमतिको प्रस्तावलाई कांग्रेसले सकारात्मक रुपमा लिएको छ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको प्रस्तावको प्रतिवादमा उत्रिएपछि विपक्षी मोर्चा बनाएर सभामुख र उपसभामुखमा प्रतिस्पर्धा रोजेको कांग्रेसका नेताहरुको भनाइ छ । अघिल्लो संसदमा सभामुखका दुईवटै निर्वाचनमा संसदमा सभामुखको भूमिका निष्पक्ष हुनुपर्ने भएकाले दलीय आधारमा प्रतिस्पर्धा गर्दा राम्रो सन्देश नजाने तर्क कांग्रेसले गरेको थियो । सोही आधारमा त्यतिबेला उम्मेदवार नउठाएको कांग्रेसले अहिले प्रतिस्पर्धाको नीति लिएको छ ।

विश्वासको मत दिनुअघि राष्ट्रपतिमा सहयोग गर्ने प्रचण्डको संकेतले कांग्रेसले आश मारेको छैन । प्रधानमन्त्री प्रचण्डले आज पनि राष्ट्रपति र उपराष्ट्रपतिबारे समझदारीको कोसिस भइरहेको बताएका छन् । राष्ट्रपतिमा चाहिँ के हुन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’

तर एमाले ओलीले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुनुपर्ने टिप्पणी गरेका छन् । ‘नेकपा एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ । त्यसैमा राष्ट्रिय सहमति हुनुपर्छ, हाम्रो सहमति पनि त्यही हो,’ उनले सञ्चारकर्मीसँग भने ।

कांग्रेसले गठबन्धन भत्काउँछौं, हाम्रो उम्मेदवार राष्ट्रपति हुन्छ भनेको छ नि भन्ने प्रश्नमा ओलीले हाँस्दै ‘ठीकै छ’ भने । एमालेबाट राष्ट्रपतिको उम्मेदवार को रु भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ओलीले ‘पछि भनौंला’ भन्ने जवाफ दिएका छन् । ओली मंगलबारको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीको राष्ट्रिय सहमतिको प्रस्तावको प्रतिवादमा उत्रिएका थिए । साभार: रातोपाटी