पाइलट केसीको सालिकसहित उद्यान निर्माण गरिने



काठमाडौं। कास्कीको रुपा गाउँपालिकाले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गर्ने भएको छ।

गाउँपालिका बैठकले केसीको स्मरणमा सालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका सबैको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

स्व.केसी रुपा गाउँपालिका–३ पोल्याङ निवासी थिए। गाउँपालिकाकै पहिलो पाइलट भएको भन्दै उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट समेत सम्मान गरिएको थियो । पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको ओझाले बताए।

२०४६ सालमा नेपाल वायु सेवा निगमबाट आफ्नो पेशाको सुरुआत गरेका केसी पछिल्लो समय यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए।

माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिक सेती नदीको खोंचमा दुर्घटना हुँदा ७१ जनाको निधन भएको छ। दुर्घटनामा परेकाहरूमध्ये एक जनाको स्थिति अझै खुलेको छैन।