सुर्खेत। कर्णाली प्रदेश सभाको उपसभामुखका माओवादी केन्द्रकी सांसद यशोदा न्यौपाने ‘पूर्णिमा’ निर्वाचित भएकी छन्।
कालिकोट घर भएकी न्यौपाने बुधबार भएको उपसभामुखको निर्वाचनमा उनी निर्वाचित भएकी हुन्। उनलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गरेकी हुन्। उनको पक्षमा २४ मत आएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत पाइन्। उनलाई कांग्रेसको मात्रै १४ मत प्राप्त भएको छ।
निर्वाचित न्यौपानलेलाई नेकपा (माओवादी केन्द्र) को १३, एमालेको ९ र राप्रपा र नेकपा (एकीकृत समाजवादी)को १ मत प्राप्त भएको छ । ४० प्रदेशसभा सदस्य रहेको प्रदेश सभामा ३८ जना सांसद सहभागी भएका थिए। सभामुखको निर्वाचनमा कांग्रेसलाई सघाएको समाजवादीले यो पटक सत्तारुढ गठबन्धनलाई सघाएको छ। निर्वाचित न्यौपानले माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन्।
उनी वाईसिएल नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष समेत भइसकेकी महिला नेतृ हुन्। कालिकोटमा माओवादीभित्र सम्भावना बोकेकी महिला नेतृमा पर्ने उनी माओवादीको कालिकोट सह–इञ्चार्ज समेत हुन्।
उनी माओवादीले थालेको १० बर्षे सशस्त्र जनयुद्धमा समेत सहभागी भएकी थिइन्। उपसभामुखका लागि न्यौपानको प्रस्तावकको रुपमा माओवादीका कृष्ण जिसी र एमालेका विनोदकुमार शाह समर्थक रहेका थिए।