काठमाडौँ। मंगलबार विश्व बैंकले ‘ग्लोबल इकोनोमिक्स प्रस्पेक्ट्स’ प्रतिवेदन सार्वजनिक गर्यो। त्यसको सार थियो– विश्व अर्थतन्त्र मन्दीमा छ र यो अझै कायम हुनेछ।
नेपाली अर्थतन्त्रको अवस्था र आगामी आकलन समेत समावेश भएको उक्त प्रतिवेदनले नेपालको लक्ष्यअनुसारको आर्थिक वृद्धि हुन धेरै कठिन भए पनि विश्व अर्थतन्त्रको तुलनामा ठूलो हुने बताएको छ।
प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२/०२३ मा ५.१ र २०२३/०२४ मा ४।९ प्रतिशत रहनेछ। तर विश्व अर्थतन्त्रमा भने सङ्कुचन आउने प्रतिवेदनमा उल्लेख छ। नयाँ प्रक्षेपणअनुसार सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर १.७ प्रतिशतमा खुम्चिनेछ।
अन्य अन्तर्राष्ट्रिय संस्थाहरुले समेत सोहीखाले रिपोर्टहरु सार्वजनिक गरिरहेका छन्। गभर्नर महाप्रसाद अधिकारीले पछिल्लोपटक नेपालको अर्थतन्त्रमा विश्व आर्थिक मन्दीका बाछिटा देखिने बताइसकेका छन्।
पुस २४ गते राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा उनले भनेका थिए, ‘विश्व अर्थतन्त्रमा मन्दी कायम रहेको र अझै केही समय सोही गतिमा रहने अवस्था भएकाले त्यसको बाछिटा नेपालमा देखिनेछ।’