काठमाडौँ। कम्युनिस्ट नेता घनश्याम भूसालले नेकपा एकीकृत समाजवादी रोजेका छन्। नेकपा एकीकृत समाजवादी कम्युनिस्ट आन्दोलनका लागि असाधारण ठाउँ भएकाले यही पार्टी रोजेको उनले शुक्रबार पत्रकार सम्मेलन गरी बताएका हुन्।
‘आज संक्षिप्त दस्तावेज मैले जुन पढेको छु । त्यसमा नेकपा एकीकृत समाजवादी त्यही ठाउँमा छ जहाँबाट यसले समग्रतामा हेर्न सक्छ’ उनले भने । सैद्धान्द्धिक रुपले र वर्तमानमा बसेर इतिहास हेर्दै अगाडि बढ्न सकिने ठाउँ पनि एकीकृत समाजवादी भएको उनको भनाइ छ ।
कम्युनिस्ट आन्दोलन, विगतको नेकपा एमाले, माओवादी, नेपाल कम्युनिस्ट पार्टी निर्माण र भंग भएको अवस्थाको चित्रण र एकीकृत समाजवादीको सकारात्मक विषयको चर्चा नेता भुसालले पत्रकार सम्मेलनको अन्तिमतिर उनले भने, ‘म अब एकीकृत समाजवादीको कार्यालयमा जान्छु र सदस्यता रिन्यु गर्छु।’
भूसालले कम्युनिस्ट पार्टीले प्राप्त गरेको ऐतिहासिक अवसर गुम्दा मुलुकको राजनीतिले सही दिशा समात्न नसकेको बताएका छन्। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले एमाले अध्यक्ष केपी ओलीले प्राप्त गरेको अवसरको सदुपयोग गर्न नसक्दा समाजवादी यात्रामा बिलम्ब हुन पुगेको टिप्पणी गरेका हुन्।
परिणाममा मुलुकमा लोकरिझ्याँइ मौलाएको उनको भनाइ छ। उनी भन्छन्, ‘राजनीति भनेको षड्यन्त्र, झुट, खुट्टा तनातान। गर्दागर्दा निन्दा र भर्सना भयो। निन्दा र भर्त्सनाको स्थिति यति विकरित भयो कि अहिलेकै चुनाव हेर्ने हो भने पनि जो बढी निन्दा गर्न सक्छ, जो बढी भर्त्सना गर्न सक्छ, जो बढी मुल्यहीन छ, जो बढी सिद्धान्तहीन छ उ बढी पपुलर हने स्थिति आयो राजनीतिमा।’
उनी अगाडि थप्छन्, ‘अहिलेको राजनीतिक अवस्था सुखद हो? यसले मुलुकलाई रामो दिशातिर लैजाँदैछ? एकैछिन हाहाहोहो चल्दैछ। तर, यो हाहाहोहो रमाइलो, रंग रमाइलोबाट मुलुक डरलाग्दो अवस्थारित जाँदैछ।’
तस्बिर: मुकुन्द कालिकोटे