काठमाडौँ। नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।
उनले भने, , ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन। त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं।’ प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन मिति तय गरिसकिएको छ।
यस्तै स्ववियु निर्वाचन पनि आएकाले नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको उनको भनाइ छ। त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
प्रतिनिधिसभामा ८८ (एक सांसद निलम्बित) जना सांसद रहेको कांग्रेसलाई सभामुखको चुनाव जित्न करिब ५० सांसदको साथ आवश्यक देखिन्छ। सभामुख कांग्रेसले पाउन वर्तमान सत्ता गठबन्धनका दलले सहयोग नगरी सम्भव छैन।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सत्ता गठबन्धनभित्र खेल्ने रणनीति बनाएको कांग्रेसले सत्ता गठबन्धनकै दलहरूसँग सभामुखका लागि छलफल गर्ने बुझिएको छ। कांग्रेसमा पूर्व उपसभापति विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्की मध्ये एक जनालाई सभामुखको उम्मेदवार बनाउने तयारी भइरहेको कांग्रेस स्रोत बताउँछन्।