काठमाडौँ। जनता समाजवादी पार्टी जसपा नेपाल र नेकपा एकीकृत समाजवादीबीच एकता वार्ता हुन लागेको छ।
एकताका लागि गठित दुई पक्षको कार्यदलबीच छलफल हुन लागेको कार्यदलका सदस्य प्रकाश ज्वालाले जानकारी दिएका छन्। नेकपा एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालसहित नेताहरु डा। विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेको कार्यदल बनाएको थियो।
यस्तै जसपाले पनि नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी रहेको कार्यदल बनाएको छ। नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएको थियो। गत मंसिर ४ मा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन। उपेन्द्र यादव नेतृत्वको जसपाका १२ सांसद छन्। सो पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट जितेको थियो।
एकीकृत समाजवादी र जसपाबीच पार्टी एकता भए सो पार्टीका २२ सांसद पुग्नेछन्। उक्त पार्टी संसदमा चौथो ठूलो दल बन्ने छ। हाल २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो दल छ।