काठमाडौँ। वैदेशिक लगानी भित्र्याएसँगै नेपालको एउटा प्रमुख इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले फड्को मारेको छ। प्रतिस्पर्धी कम्पनीहरूको गति सुस्त हुँदा वर्ल्डलिंक भने आक्रामक रुपमा विस्तार भइरहेको छ।
हालसम्म वर्ल्डलिंकका ग्राहक ७ लाख २३ हजार पुगेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार असोजसम्म ६ लाख ९० हजार ग्राहक रहेका थिए। वर्ल्डलिंकका ग्राहक प्रतिस्पर्धीको रुपमा सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ। जसका ग्राहक २ लाख ९० हजार छन्।
१ वर्ष अघिसम्म वर्ल्डलिंकका ग्राहक ५ लाख ६३ हजार रहेका थिए भने नेपाल दूरसञ्चारका ३ लाख ९ हजार थिए। निजी क्षेत्रको स्वामित्वको वर्ल्डलिंकले १ वर्षमा १ लाख ६० हजार ग्राहक बढाउँदा प्रतिस्पर्धी दूरसञ्चार कम्पनीका २० हजार ग्राहक घटेका छन्।
वर्ल्डलिंकसँग निजी क्षेत्रबाट भने प्रतिस्पर्धीको रुपमा ३ वटा कम्पनी छन्। असोजसम्म सुबिसुका ग्राहक २ लाख ४२ हजार रहेका छन् भने भायानेटका २ लाख ४४ हजार र क्लासिकटेकका बराबर अर्थात् २ लाख ४८ हजार छन्। ३ वर्षअघि वैदेशिक लगानी भित्रिनुअघि वर्ल्डलिंकका ग्राहक ३ लाख ४ हजार रहेका थिए। सो अवधिमा नेपाल दूरसञ्चार लिमिटेडका २ लाख ३६ हजार ग्राहक रहेका थिए।
नेपाल दूरसञ्चार कम्पनीले ३ वर्षमा ५६ हजार ग्राहक बढाउँदा वर्ल्डलिंकले सोही अवधिमा ३ लाख ५६ हजार बढाएको छ। ३ वर्षअघि सुबिसुका ७९ हजार, भायानेटका ७३ हजार, क्लासिकटेकका ४४ हजार ग्राहक रहेका थिए। पछिल्लो समय उदाएको डिशहोमका ग्राहक २ लाख पुगेका छन्। १ वर्षअघि डिशहोम फाइबर नेटका जम्मा १७ हजार मात्रै ग्राहक थिए। यता ठूलो घरानाको लगानी भई डेढ वर्षअघि सुरु भएको सीजी नेटका ४० हजार बढी ग्राहक पुगेको कम्पनीले जनाएको छ।
वर्ल्डलिंकमा २०१९ मा बेलायतको बैंक तथा वित्तीय संस्था ब्रिटिस इन्टरनेश्नल इन्भेष्टमेन्टअन्तर्गतको सीडीसीले १ अर्ब ३५ करोड लगानी गरेको थियो। जसमा १ अर्ब वर्ल्डलिंकमा प्रत्यक्ष लगानी गरेको थियो। सीडीसीमा बेलायती सरकारको पूर्ण लगानी छ।
वर्ल्डलिंकमा यसको १० प्रतिशत सेयर हिस्सा रहेको छ। सीडीसीले विश्वभर १२०० बढी व्यवसायमा लगानी गरिरहेको छ। यसको कुल कम्पत्ति ६।८ अर्ब पाउन्ड छ। ‘वैदेशिक लगानी भित्र्याउँदा कम्पनीको डीडीए ९सम्पत्ति तथा दायित्व मूल्यांकन० गर्नुपर्छ, जसले कम्पनीको विश्वास बढाउँछ’, वर्ल्डलिंक कम्युनिकेशनका निर्देशक लक्ष्मण यादवले भने, ‘लगानी विस्तार गर्न पनि सहयोग पुर्याउँदा ग्राहकको संख्या वृद्धिदर बढेको हो।’
वर्ल्डलिंकले ‘फाइबर टु द होम’ प्रविधि २०१२ मा नेपाल भित्र्याएको थियो। २०१८ मा कम्पनीले फिनल्यान्डको बहुउद्देश्यीय आईटी इन्फ्रास्ट्रक्चर फर्म नोकियासँग सहकार्य गरी एफटीटीएच नेटवर्क विस्तार गरिरहेको छ। कम्पनीले १० लाख ग्राहकसमक्ष फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य राखेको छ। हालसम्म वर्ल्डलिंकको १३ हजार ६४६ किलोमिटर बढी फाइबर नेटवर्क विस्तार भइसकेको छ।