काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा काम गर्नुको कुनै विकल्प नरहेको बताएका छन् ।
सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका न्यूनतम साझा कार्यक्रमको सार्वजनीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले यस पटक राम्रो कामभन्दा नगर्ने र नराम्रो काम गर्न दिँदै नदिने नीति लिएको बताए । उनले बेथितिहरू रहेपनि त्यसलाई नियन्त्रण गरेर लैजाने कुरामा प्रतिबद्ध रहेको बताए । उनले देश आर्थिक रूपमा केही अफ्ठ्यारोमा भएपनि आर्थिक संकट र देश संकटमा नरहेको बताए । उनले देशको अफ्ठ्यारोलाई सम्हाल्न आफू सक्षम रहेको पनि बताए । उनले सबै मिलेर काम गर्ने हो भने देशको मुहार फेर्न समय नलाग्ने बताए ।
प्रधानमन्त्री दाहालले आगामी एक महिनामा न्यूनतम साझा कार्यक्रम मन्त्रालयमा ल्याउनका लागि कार्य योजना प्रस्तुत गर्न मन्त्रालयका सचिवहरूलाई निर्देशन दिए । प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टीले पनि आफ्नो सरकारलाई विश्वासको मत दिने जानकारी दिएको बताए ।