काठमाडौँ। नवनियुक्त नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनका लागि सबैसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
नेपालका लागि राजदूत नियुक्त भएर काठमाडौँ आएसँगै राजदूत सोङले ट्वीटर मार्फत नेपालमा २२ औँ चिनियाँ राजदूतको रूपमा काम गर्न पाउनु आफ्नो लागि सौभाग्य र ठुलो सम्मानको कुरा भएको बताएका छन् ।
आज काठमाडौँ आइपुगेको, यहाँको भव्य सौन्दर्य र अनुपम संस्कृति देखेर चकित भएको उल्लेख गर्दै नेपाली जनताको दया र न्यानोपनबाट प्रभावित भएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘म, दूतावासका मेरा सहकर्मीहरूसँगै चीन–नेपाल सहयोगको पूर्ण सम्भावनालाई उजागर गर्न र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सबै क्षेत्रका नेपाली साथीहरूसँग मिलेर काम गर्न तयार छु ।’ राजदूत सोङले ट्वीटरमा नेपाली भाषामा ‘हिमालय वारपार चीन–नेपाल मित्रता अमर रहोस्’ भन्ने कामना पनि गरेका छन् ।