काठमाडौँ। प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्तिले असन्तुष्टि प्रकट गरेको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो । नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले सत्ता साझेदार दलको शीर्ष नेतृत्वहरुको बैठकमा आफूहरुको पनि सहभागिता रहेपनि त्यहाँ भएको बाँडफाँटमा आफूहरुको कुनै सहमति नजाएको स्पष्ट पारे ।
प्रमुख सचेतक चौधरीले भने, ‘बैठकमा हामीलाई पनि बोलाइयो । हाम्रो अध्यक्ष ज्यू पनि सहभागी हुनुभयो । तर सहभागी हुनुको अर्थ सहमति जनाउनु होइन नि । सहमति पत्रमा हाम्रो हस्तक्षर छैन भने बाँडफाँटमा हाम्रो सहमति छैन । हामीले हाम्रो निर्णयको लागि २४ घण्टाको समय मागेका छौँ ।’
उनले आफूहरुले उठाउँदै आएको रेशम चौधरीसहित राजबन्दी रिहाइको माग मुद्दा सम्बोधन नभएसम्म सरकार गठनमा कुनै सहयोग नगर्ने बताए । सत्ता साझेदार दलको बैठकमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको बताइएको छ ।