सत्ता गठबन्धन कति टिकाउ हुन्छ भन्न सकिन्न: माधव नेपाल



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने बताएका छन्।

शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले गठबन्धनको स्थायीत्वमा विश्वास गर्न सकिने अवस्था नभएको बताएका हुन्। ‘एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो। यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन। हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायीत्व होस्’ उनले भने।

अध्यक्ष नेपालले पदमा को बस्छ भन्ने कुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे। ‘को पदमा आसिन हुनेछ, त्यो महत्वपूर्ण कुरा होइन। उहाँले के गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा हो। हाम्रो राजनीतिमा रहेका जतिपनि विसंगतिहरु छन्, हाम्रो प्रशासनिक क्षेत्रमा रहेका जतिपनि विकृति छन्,समाजका यावत चुनौतिहरुको सम्बोधन गर्नेगरी सरकार अघि बढ्नुपर्छ’ उनले भने। अध्यक्ष नेपालले नागरिकमा एक अर्का राजनीतिक दलहरुप्रतिको विश्वास हराउँदै जानु दुःखद् भएको बताए।