‘संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर छ’



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताएका छन्।

शनिबार बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको समेत बताए ।

उनले भने, ‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन। यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ।’

उनले शिक्षक अस्पताल आफुहरुकै पहलमा बन्न लागेको समेत बताए। ‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ,’ प्रधानमन्त्रीले भने,‘यसलाई सफल कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रै हो। यसका साथै शिक्षकहरूको सम्मानित जीवनका निम्ति हामीले केही न केही पहल लिनैपर्छ। त्यसतर्फ पनि सरकारले सोचिरहेको छ।’ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा रहेको बताए।