नेसपा र माओवादी केन्द्रबीच पार्टी एकता



काठमाडौँ। माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकीकरण हुने भएको छ।

छिट्टै पार्टी एकीकरण हुने विषयमा माओवादी केन्द्रका अध्यक्ष र नेसपाका अध्यक्ष भट्टराईबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा झन्डै १ घण्टा छलफल भएको छ। दुई पार्टीबीचमा एकता गर्नेबारेमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल भएको नेसपाका नेता गंगा श्रेष्ठले रातोपाटीलाई जानकारी दिए।

नेता श्रेष्ठले भने, ‘पार्टी एकता छिट्टै गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ । यस्तै संसदमा विश्वासको मत लिने र अन्य समसामयिक विषयमा छलफल भएको हो।

शनिवार दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी एकताको प्रस्ताव गर्ने र आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा प्रस्ताव गरेर ती बैठकबाट पार्टी एकतालाई मूर्त रुप दिएर जाने सहमति भएको नेता श्रेष्ठले बताए। अलि छिट्टै पार्टी एकता गर्ने दुवै अध्यक्षको चाहना रहेको उनको भनाई छ। एकतापछिको पार्टीमा अध्यक्ष भट्टराईको स्थान कुन रहन्छ भन्नेबारेमा अहिले निर्क्यौल नगरेको भोली एकता हुने बेलामा तय गरिने भएको छ।