प्रधानमन्त्री प्रचण्डलाई पत्रकार महासंघको बधाई



काठमाडौँ। नेपाल पत्रकार महासंघको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई ज्ञापन गरेको छ।

बिहीबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी महासंघको टोलीले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएको हो । महासंघका अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीले प्रधानमन्त्री प्रचण्डको तेस्रो कार्यकाल सुशासन, विकास र समृद्धिका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका दृष्टिले अनुकरणीय रहन सकोस् भनी बधाई दिएको हो ।

भेटमा अध्यक्ष पोखरेलले वर्तमान सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई केन्द्रमा राखेर नीति, कानुन तथा व्यवहार गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । भेटमा प्रधानमन्त्री प्रचण्डले आफू मुलुकका लागि केही नयाँ गर्ने सङ्कल्पसहित प्रधानमन्त्रीको जिम्मेवारी लिएको बताउँदै आफ्नो कार्यकालमा कुनै पनि नराम्रो काम हुन नदिन सचेत रहेको बताए । प्रधानमन्त्रीले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरूको हितप्रति संवेदनशील रहेको बताउँदै महासङ्घसँग सहकार्य गरेर अघि बढ्ने बताए ।

भेटमा महासंघका अध्यक्ष पोखरेलका साथै सल्लाहकारहरु र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरू सहभागी रहेका थिए ।