काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय फुटाउन लागिएको भनेर भएको प्रचारबारे कुरा उठेको छ ।
यस सम्बन्धमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रश्न गरेका हुन् । राप्रपा अध्यक्ष लिङ्देनले गठबन्धनभित्र भागबण्डा पुर्याउन मन्त्रालय फुटाइए गलत हुने बताएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले मन्त्रालय नफुटाइने स्पष्ट गरेका थिए । उनले बाहिर आएका हल्लाहरू गलत भएको बताउँदै गलत थिति बसाल्न हुन्न भन्नेमा आफू सचेत रहेको बताएका थिए ।
यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि मन्त्रालय फुटाएर बाँडफाँट नहुने स्पष्ट गरे । बैठकपछि लामिछानेले भने, ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन ।’ उनले बैठकमा समसामयिक राजनीति र राहदानी विभागको सिस्टम डाउनबारेसमेत छलफल भएको बताए ।
यसैबीच प्रधानमन्त्रीको सचिवालयले समेत संविधानमा व्यवस्था भएकोभन्दा बढी मन्त्रालय नबनाइने जनाएको छ । विभिन्न सञ्चारमाध्यममा मन्त्रालय फुटाएर संख्या बढाउन लागिएको आशयसहितको समाचार आएको प्रति ध्यानाकर्षण भएको जनाउँदै सचिवालयले यस्तो जनाएको हो ।
संवैधानिक व्यवस्थाअनुसार मन्त्रालयको संख्या कुनै हालतमा नबढाइने र जम्बो मन्त्रिपरिषद्को आवश्यकता नभएको सचिवालयको भनाइ छ । सात दलीय सत्ता गठबन्धनमा भागबण्डा मिलाउनैको लागि मन्त्रालयको संख्या बढाउन नहुनेमा सरकार सचेत रहेको सचिवालयको भनाइ छ ।