चंखेली गापा अध्यक्ष र उपाध्यक्षको विद्यार्थीसँग अन्तरक्रिया



काठमाडौँ। हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही र उपाध्यक्ष प्रेमकला शाहीले संघीय राजधानी काठमाडौँमा बस्ने विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम गरेका छन्।

बुधबार राजधानीको एक होटेलमा आयोजित कार्यक्रममा गापा अध्यक्ष प्यारीलाल शाहीले जनताका आवश्यकता र सुझावहरु कार्यान्वयन गर्ने क्रममा रहेको बताएका छन्।

उनले भनेका छन्, ‘हामीले जनताका सुझाव सल्लाहलाई दृष्टिगत गरेका छौं। हाम्रो कार्यकालमा जनताका समस्यालाई जतिसक्यो धेरै समाधान गर्ने प्रयास गर्नेछौं। जनताको सेवाको लागि जतिबेला पनि तत्पर छौं। हामीले नौ महिनामा धेरै काम गरेका छौं। भौगोलिक अवस्था र विकटताको कारणले केही काम चाहेर पनि गर्न सकेका छैनौं।’ अध्यक्ष शाहीका अनुसार हालसम्मको लागि गापाको प्रशासकीय भवन नबनेका कारण काम गर्न असहज भएको अध्यक्ष शाहीको भनाई छ।

त्यस्तै कार्याक्रममा गापा उपाध्यक्ष प्रेमकला शाहीले आफ्नो पहिलो कार्यकाल भएकाले धेरै चुनौती रहेको बताएकी छन्। उपाध्यक्ष शाहीले अनेकन चुनौतीको सामाना गर्दै जनताको समस्याप्रती आफू पुर्ण बफादार रहने बताईन।

कार्याक्रममा राजधानीमा बस्दै आएका विद्यार्थी तथा हुम्लीबासीले शिक्षकको लापरबाहीका कारण त्यहाँका विद्यार्थीको भविष्यमाथि ठूलो असर परेकाेमा चिन्ता व्यक्त गरेका छन्। गापा अध्यक्ष र उपाध्यक्षलाई हुम्लाको स्वास्थ्य, शिक्षा, रोजगार र विकास समृद्धिका निम्ति विद्यार्थी तथा अन्य व्यक्तिहरुले सुझाव दिएका छन्। जो सुझाव कार्यान्वयन गरिने गापा अध्यक्ष र उपाध्यक्षले विश्वास दिलाएका छन्।

गाउँपालिका र वडा नम्बर ४ को विकासको लागि राम्रो काममा सहयोग र नराम्रो काममा खबरदारी गर्न युवाहरुको अत्ति आवश्यक रहेको चंखेली गापा वडा नम्बर ४ का वडा अध्यक्ष पदम बहादुर शाहीले बताएका छन्।

प्रकाश जैशीले हुम्लामा शिक्षा स्तर घट्नुमा जिम्मेवार पक्षको हात रहेको बताए। उनले गापा अध्यक्ष र उपाध्यक्षलाई चंखेली गापालाई कहिले साक्षर गापा घोषणा गर्ने ? भनेर प्रश्नसमेत गरेका थिए। रेडियो श्रीनगरका प्रोस्तोता नबराज महतराले शिक्षा ,स्वास्थ्य र गरिबीलाई मध्यनजर गर्न सुझाव दिएका छन्।