माओवादी केन्द्र र नेसपाबीच एकता हुने



 

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच छिट्टै एकता हुने भएको छ।

नेपाल समाजवादीको आगामी पुस २४ गतेको राजनीतिक समितिको बैठकपछि पार्टी एकताको वातावरण बनाएर जाने नेताहरूले बताएका हुन्। प्रचण्ड–बाबुरामबीच गत साउन ३१ गते एउटै चुनाव चिह्न र घोषणापत्र लिएर जाने सहमति भएको थियो। सोअनुसार एउटै चुनाव चिह्न र घोषणापत्रमार्फत नेपाल समाजवादीका संघीय परिषद् अध्यक्ष महेन्द्रराय यादव प्रतिनिधि सभामा निर्वाचित भएका थिए। यस्तै प्रदेशसभातर्फ गंगानारायण श्रेष्ठ र फनिन्द्र देवकोटा निर्वाचित भएका थिए।

राजनीतिक समितिको बैठकपछि दुबै पक्षबाट समिति बनाएर माघभित्रै एकता गर्नेतिर जानुपर्ने नेता गंगानारायण श्रेष्ठले बताए। नेपाल समाजवादीका सांसद माओवादीका हुने भएकाले पार्टी एकता गर्न ढिला गर्न नहुने भन्दै बाबुराममाथि नेताहरूले दबाब बढाएका छन्। ‘हाम्रो पार्टी र माओवादीबीच तत्काल एकता गर्ने भन्ने छ। त्यसमा पार्टीको नाम र चुनाव चिह्न तत्काल टुंगो लगाउनुपर्छ भन्ने छ। अरु वैचारिक र कार्यदिशाको सवालमा महाधिवेशनमा बहस तथा छलफलबाट किनारा लगाउँनुपर्छ भन्ने छ’ श्रेष्ठले रातोपाटीसँग भने, ‘हाम्रो जोड समाजवादी केन्द्र बनाउने, चुनाव चिह्न समेत फेर्नुपर्छ भन्ने छ । त्यसमा दुबै पक्षको सहमतिमा एउटा निष्कर्षमा पुगिएला।’

अरु देशभक्त कम्युनिस्ट पार्टीसँग पनि सहकार्य गरेर जाने योजना बनाइएको श्रेष्ठले बताए। त्यसमा एमाले, एकीकृत समाजवादी र जसपा लगायतका दललाई समेट्न सकिने उनको भनाइ छ।

यसैगरी माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टीसँग तत्काल एकता हुनेगरी छलफल भइरहेको बताए। ‘बाबुरामजी नेतृत्वको पार्टीसँग चुनावअघि नै एक खालको कार्य भइसकेको हो। प्राविधिक रूपमा एकता गर्न मात्रै बाँकी छ,’ पौडेलले भने, ‘संसदमा भएका अरु कम्युनिस्ट शक्तिहरुलाई जोडेर बृहत् कम्युनिस्ट केन्द्र बनाउने योजनामा छौं।’ एकता गर्दा पार्टीको नाम र चुनाव चिह्न आपसी सहमतिमा टुंगो लगाउने पौडेलको दाबी छ। २०७२ साल असोज ९ गते माओवादीलाई ‘भत्किएको घर’ संज्ञा दिँदै बाबुरामले पार्टी परित्याग गरेका थिए।

यस्तै भट्टराई आफ्नो नेतृत्वमा नयाँ शक्ति नेपाल गठन गरेर २०७४ सालको चुनावमा सहभागी भएका थिए। प्रदेश र प्रतिनिधि सभा दुबै चुनावमा सफलता हासिल नभएपछि उनले उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेका थिए। एकतापछि नेपाल समाजवादी पार्टीमा भट्टराई सक्रिय भए । पछि महन्थ ठाकुर नेतृत्वको पार्टीसँग एकता भएर जसपा बनेको थियो।

तत्कालीन जसपामा विवाद भएपछि ठाकुरले आफ्नो नेतृत्वमा लोसपा गठन गरेका थिए भने भट्टराई सोही पार्टीमा रहे। तर, ठाकुर बाहिरिएपछि बाबुराम र उपेन्द्रबीच विवाद उत्पन्न हुँदा पार्टी विभाजित भयो। त्यसपछि बाबुरामले आफ्नो नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन गरेका हुन्। यहीबीचमा चुनावमा सहकार्य गर्दै भट्टराई माओवादी छोडेको ७ वर्षपछि माओवादीमा फर्किने परिस्थिति बनेको हो।