जनमत र रास्वपा बर्जुवा पार्टी हो: झलनाथ खनाल



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मंसिर ४ को निर्वाचनबाट नयाँ शक्ति बनाएर उदाएका पार्टीहरूलाई बुर्जुवा भएको आरोप लगाएका छन्।

पोलिटब्युरो बैठकमा प्रस्तुत गरेको आफ्नो दस्तावेजमा खनालले संसद्को चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई रहस्यमय शक्ति र बुर्जुवा उदारवादी भएको आरोप लगाएका हुन्।

एकीकृत समाजवादीको सोमबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा प्रस्तुत गरिएको खनालको दस्तावेजमा भनिएको छ, ुरहस्यमय शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसैले गृह मन्त्रालय खान थालिसकेको छ। त्यो पनि आम रूपमा बुर्जुवा उदारवादकै पक्षमा देखिन्छ।

सिके राउत नेतृत्वको जनमत पार्टीलाई पनि बुर्जुवा उदारवादी नै भएको खनालको ठहर छ। ‘तराईमा जनमत पार्टी उदाएको छ। त्यो पनि आम रूपमा त्यसै वर्गीकरणमा देखिन्छ, ‘खनालले लेखेका छन्।

सरकारमा दुवै पार्टीको सहभागितालाई लिएर पनि खनालले प्रश्न उठाएका छन्। उनले राउत र लामिछानेको पार्टी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएको बारे लेखेका छन्, ‘मधेस देश बनाउनेहरू पनि त्यहीँ छन् । संघीयता खारेज हुनुपर्छ भन्नेहरू पनि त्यहीँ छन्। नेपालको नागरिकताबारे नै गम्भीर विवादमा रहेका र सर्वोच्च अदालतमा मुद्दा खेपिरहेकाहरू पनि त्यहीँ छन्।’

खनालले स्थायी कमिटी बैठकमा पनि यी कुरा राखेका थिए। सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा भने यो दस्तावेज प्रस्तुत गरेका हुन्।