‘गठबन्धन भत्किएको विषयमा केन्द्रीय समिति बैठकमा निर्मम समीक्षा हुन्छ’



काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले काँग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्ने माग गरेका छन् ।

कतिपय काँग्रेस नेताहरूले विशेष अधिवेशनको माग गरिरहेको बेला कोइरालाले भने विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनु पर्ने माग गरेका हुन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा पनि गलत भएको बताए । ‘कारबाही गर्ने कुरा कसले भनेको छ रु के मा कसरी कारबाही गर्ने रु मलाई पनि मुखमा आएको सत्ता गयो भन्ने चिन्ता छ तर, कारबाही भन्ने कुरा हुँदैन,’ कोइरालाले भने ।

काँग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र काँग्रेसको पनि कमजोरी रहेको उनले बताए । ‘मैले के भने भन्ने कुरा महत्वपूर्ण होइन । प्रधानमन्त्री या राष्ट्रपति के चाहिन्छ भन्ने कुरामा सभापतिलगायत वार्तामा हुनेहरुले फाइनल गर्नुपर्थ्यो, उहाँहरू चुक्नु भएको छ,’ कोइरालाले भने, ‘राष्ट्रपति लिएर सहमति गरेको भएपनि हुन्थ्यो होला ।’

कोइरालाले काँग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए । ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौं,’ कोइरालाले भने । आफूहरूको मान्यता निर्वाचन पछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए । ‘हाम्रो निर्वाचन पछि गठबन्धन गरौं भन्ने मान्यता थियो । तर पहिले नै गठबन्धन गर्यौं । त्यसपछि त्यसलाई टिकाउने जिम्मा हाम्रो थियो । किनकी हामी ठूलो पार्टी थियौं,’ कोइरालाले भने, ‘यद्यपि ठूलो पार्टी भएकोले प्रधानमन्त्री पाउनुपर्छ भन्नु हाम्रो स्वाभाविक दाबी थियो । प्रचण्डले त्यो रुचाउनु भएन । दुवै तर्फबाट पदको आशक्ति भयो ।’

गठबन्धन विभाजन भएको विषयमा नेपाली काँग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गर्नुभयो । यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने ।

अन्तिम समयमा महामन्त्रीहरुलाई बोलाएर निर्णय गरेको भए राम्रो हुने भन्दै कोइरालाले भने, ‘निर्णय गर्दा महामन्त्रीहरुलाई बोलाएको भए हुन्थ्यो । सबैलाई बोलाएर गर्दा पनि हुनेथियो तर, त्यो सम्भव थिएन । कम्तीमा पदाधिकारीलाई बोलाएर । त्यो पनि सम्भव छैन भने महामन्त्रीलाई बोलाएको भए हुनेथियो ।’

उनले पार्टीभित्र विशेष महाधिवेशनको माग गर्नुभन्दा नीति अधिवेशन गर्नैपर्नेमा जोड दिए । ‘यसपटकको अधिवेशन निर्वाचनमुखी गर्यौं । नीति अधिवेशन हुन जरुरी छ । कस्तो नीति बनाउने भन्ने विषयमा जोड दिन्छौं,’ उनले भने, ‘विशेष अधिवेशनबारे काँग्रेसको विधानमा आफ्नै प्रक्रिया छ । त्यो प्रक्रिया पार गर्न गाह्रो छ । बोलेर हुने कुरा होइन यो । नीति अधिवेशनमा हामी जोड दिन्छौं ।’