काठमाडौँ। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेका छन्।
उनी पहिलो पटक दल निर्माण गरेर निर्वाचनको मैदान होमिएका थिए। टेलिभिजनकर्मीबाट उनले आफूलाई राजनीतिमा प्रवेश गराएका थिए। मनोनयन दर्ता गरेर प्रचार थालेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनी विरुद्ध उजुरी पर्यो। उनले दोहोरो नागरिकता लिएको भन्दै उम्मेदवारी खारेजीको माग उजुरीमा गरियो। उक्त उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले सात दिनको स्पष्टीकरण पनि सोध्यो।
मंसिर ४ को निर्वाचन सम्पन्न भयो, लामिछानले लोकप्रिय मतसहित निर्वाचन जिते। निर्वाचन आयोगले लामिछानेमाथि परेको नागरिकता र पासपोर्ट कीर्ते विवाद आफूले हेर्ने क्षेत्राधिकार नभएको भन्दै गृह मन्त्रालय पठायो। अधिवक्ता युवराज सफलले गृह मन्त्रालयमा पनि उजुरी दिए।
नागरिकता वितरण गर्ने निकाय जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय अन्तर्गत पर्ने भएकाले त्यहाँ उजुरी गरिएको थियो। काठमाडौँ जिल्ला प्रशासनबाट उनले लिएको नागरिकता अमेरिकी स्थायी परिचयपत्र लिएपछि स्वतः खारेज भएको थियो। नेपाल फर्केपछि उनले आफ्नो अमेरिकी परिचयपत्र अमेरिकी दूतावासलाई बुझाए। नेपालमा नागरिकताको विवाद आएपछि उनले अमेरिकी परिचयपत्र बुझाएका थिए।
अमेरिकी परिचयपत्र बुझाएपछि नेपाली नागरिकताका लागि निवेदन नदिएपछि उनी विवादमा परेका थिए। खारेज भएको नागरिकताकै आधारमा राहदानी र निर्वाचन आयोगमा दल दर्ता लगायतको कार्य गरेपछि उनी विवादमा परेका थिए। उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको थियो। उक्त उजुरीलाई गृह मन्त्रालय नै अख्तियारले पठाएको थियो।
सबैतिरबाट गृहमै जम्मा भएको उजुरीमा अनुसन्धान सुरु नै नहुँदा लामिछाने सोही मन्त्रालयको जिम्मेवारीमा पुगेका छन्। उनले सोमबार गृहमन्त्रीको सपथ लिएका छन्। उनले राष्ट्रपति विद्यादेवि भण्डारीसँग उपप्रधान तथा गृहमन्त्रीको सपथ लिएका हुन्गृ हमन्त्री भएपछि लामिछानेले आफू विरुद्ध दर्ता भएको उजुरी तामेलीमा पठाउँछन् वा थप छानविनका लागि अघि बढाउँछन् भन्ने प्रश्न अहिले उठेको छ। लामिछानेले यसबारे के गर्छन् आगामी दिनमा प्रष्ट हुनेछ।
लामिछाने गृहमन्त्री बनेसँगै उनका पक्ष र विपक्षमा आवाज उठेका छन्। चुनाव अगाडि अरुभन्दा फरक हौ, फरक गर्छौं भनेर चुनावी भाषण गरेका लामिछानेले आफूमाथि नागरिकता जस्तो महत्वपूर्ण विषयलाई किनारा नलगाई हतारमा गृहमन्त्री बन्नु न्यायिक छानविनलाई प्रभावित बनाउन खाजेको आरोप लागेको छ। उनले नैतिकता देखाउन नसकेको समेत आरोप लागेको छ।