प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णयप्रति रास्वपाभित्र विवाद



काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रचण्डलाई प्रधानमन्त्री बनाउने र सत्तामा जाने विषयलाई लिएर विवाद देखिएको छ।

पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाएका हुन्। रास्वपा पनि सत्ता स्वार्थमा लागेको भन्दै उनले असहमति जनाएका छन्।

रास्वपाको समेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा पनि सहभागी हुने गरी दलहरुबीच छलफल चलिरहेको छ। तर, केन्द्रीय सदस्य कार्कीले भने चुनावमा आफूहरुले ‘हामी अलग छौं,अलग रहनेछौं र अलग गर्नेछौं’भनेर मत मागेको तर अहिले त्यसअनुसार नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

‘आम नागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं भनेर मत मागेका थियौं, चुनावको परणाम आउँदै गर्दा हतारमा हामी पनि उनीहरु जस्तै छौं भन्न आफ्नै कान आफैंले चिर्न थाल्यौं?’ उनले प्रश्न गरेका छन्, ‘‘हामी हुनु र नहुनुले सरकार निर्माणमा केही असर नपुग्ने अवस्थामा पनि प्रचण्डभन्दा पहिले बालकोट पुग्ने हतारो किन गर्यौं?’