काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले स्नातक तहका नतिजा सार्वजनिक नभई भर्ना आह्वान गरेको छ।
त्रिवि परीक्षा नियन्त्रण कार्यलयले गतवर्ष माघ र फागुनमा सञ्चालन गरेको चार वर्षे बीबीएस र बीएडका परीक्षाफल सार्वजनिक गर्न सकेको छैन । तर शिक्षाध्यक्षको कार्यालयले भने स्नातकोत्तर तहको भर्नाको लागि आह्वान गरेको छ ।
त्रिविले स्नातक तहको नतिजा नआउँदै भर्ना आह्वान गरेपछि विद्यार्थी भने अन्योलमा परेको बताउँछन्। त्रिवि शिक्षाध्यक्षको कार्यालयले जारी गरेको सूचनाअनुसार स्नातकोत्तर तहमा मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गका क्याम्पसमा भर्ना आह्वान गरेको हो ।
सूचनामा पुस ६ देखि माघ ५ गतेसम्म आवेदन फाराम वितरण तथा बुझाउने मिति तोकिएको छ । माघ २२ गतेदेखि पढाइ सञ्चालन गरिने त्रिविले जनाएको छ। प्रवेश परीक्षा सम्बन्धित डिन कार्यालयले आफू अनुकूल निर्धारण गर्न सक्नेछन् ।