‘प्रचण्डको प्रधानमन्त्री बन्ने चाहना पुरा हुँदैन’



काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्।

फेरी एक पटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया बाहिर आएको हो।

एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे । प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताए ।

अध्यक्ष ओलीले भने, ‘कतिपय जो इच्छा गरिरहेका छन । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो । निर्णय गर्न ढिलो गर्नुभयो । संस्कृतिमा एउटा भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाईले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैँ झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हुने अव उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन।’

उनले अगाडि भने, अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरी घुमी फिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ । जाँदैन भन्न सकिँदैन । किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला रु नेकपा एमाले मात्रै हो हैसियत छ । राष्ट्रिय स्वार्थ बाहेक दलगत स्वार्थ छैन ।’

अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले मुलुक कमजोर बन्ने अवस्थामा पुगेको समेत दोहोर्‍याए । उहाँले एमालेलाई सिध्याउँछु भन्ने तत्त्वहरू आफैँ समाप्त भएको जिकिर गरे ।