राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने



काठमाडौँ। प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथअघि भोलि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने भएको छ।

मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो । सांसदहरुको शपथग्रहण प्रक्रिया लगायत बैठक बस्नुपूर्व तयारीका सम्बन्धमा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । संसदको नियमित बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने गरेपनि भोलिको बैठक त्यो रुपमा नहुने केवल शपथको बैठक सञ्चालनको बारेमा मात्र केन्द्रित हुने सचिवालयको भनाई छ ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन् । सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा। भरतराज गौतम लगायत सहभागी हुनेछन् । बैठकपछि दिउँसो १ बजेका लागि शपथ ग्रहणको कार्यक्रम राखिएको छ ।