काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बुढानिलकण्ठमा आवासीय बैठक राखिएको छ।
सोमबार विहानदेखि बुढानिलकण्ठको होटल पबेरामा राखिएको बैठक भोलि मात्रै सकिने भएको हो ।संसदीय दलको नेतामा लामिछाने चयन भएपछि सांसदहरूलाई जथाभाबी नबोल्न निर्देशन दिएका छन्।
‘हामी संसदमा नयाँ पाटी हौं। सबै नयाँ सांसद पनि हौं । धेरै विषयहरू हाम्रा लागि नयाँ छन्’ लामिछानेको ब्रिफिङबारे बताउँदै एक सांसदले भने,‘तपाईहरु मिडियालगायत सार्वजनिक ठाउँमा बोल्दा जिम्मेवार पूर्वक बोल्नुस् पदको गरिमा राखेर बोल्नुस्।’ पार्टी र सरकारमा जाने विषयमा पार्टीको लाइनभन्दा बाहिर नबोल्न लामिछानेले निर्देशन दिएका हुन् ।
‘हाम्रो पार्टीका विषयमा धेरैलाई जिज्ञासा छ । धेरैलाई कौतुहलता छ । हामीले धेरै विषयमा व्यवस्थित गर्नुपर्ने छ’ लामिछानेले भने, ‘पार्टीले गरेको निर्णयभन्दा बाहिर मनमा लागेका नबोल्नु होला । जति पार्टीले निर्णय भएको त्यति मात्रै बोल्नुपर्छ ।’ पार्टीमा विवाद आउने कुनैपनि विषय नउठाउन लामिछानेले निर्देशन दिएका छन् । लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसद्को भूमिका, कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा ब्रिफिङ गराइने भएको छ।