च्याउ उम्रिएझैँ होटलहरु बनेका छन्: राजेश हमाल



काठमाडौँ। अभिनेता राजेश हमालले होटल व्यवसाय नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण क्षेत्र भएको बताएका छन् ।

शुक्रवार काठमाडौँमा भएको नेपाल होटल अवार्ड २०२२ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले होटल व्यवसायहरू नेपालको अर्थतन्त्रका लागि महत्वपूर्ण भएको बताएका हुन्।

उनले नेपाल पर्यटनको आकर्षण केन्द्र रहेकाले धेरै भन्दा धेरै पर्यटकहरुलाई नेपाल भित्र्याउनसके नेपालले अर्थतन्त्रमा फड्को मार्ने बताए । हमालले अहिले नेपालका विभिन्न स्थानमा हातमा गन्न नसकिने होटलहरु भइसकेको भन्दै ती होटलको व्यवस्थापन र सञ्चालन कसरी भएको भन्ने बारेमा पनि निरीक्षण हुन जरुरी रहेको बताउनु भयो । उनले देशमा अहिले च्याउ उम्रिएझैँ होटलहरु बन्दै गएपनि तिनीहरुको गुणस्तर कस्तो छ भन्ने कुराले पर्यटकहरुको ध्यानाकर्षण हुने बताए ।

उनले भने, ‘जुन बेलादेखि नेपालमा विदेशीहरुको लागि ढोका खुल्यो, १९६० को दशकमा त्यसपछि नेपाल एउटा पर्यटनको आकर्षण क्षेत्र हो भनेर चिनिँदै आएको हो । अहिले निर्वाचन आयोग भएको ठाउँमा रोयल होटल भन्ने नाममा एक होटल थियो । त्यसपछि सोल्टी हुँदै यहाँसम्म आइसकेका छौँ । हातमा गन्न नसकिने होटलहरु देशव्यापी रुपमा बन्दै गएका छन् ।

हस्पिटालिटी सेक्टर राष्ट्रको इकोनोमीको लागि महत्वपूर्ण छ । यो तलमाथि हुने बित्तिकै अर्थतन्त्रमा धेरै नै असर पार्छ । नेपाल पर्यटन क्षेत्रमा महत्वपूर्ण राष्ट्र हो हाम्रोमा अहिले च्याउ उम्रिएझैँ होटलहरु बनेका छन् । ती होटलहरुको गुणस्तर कस्तो छ, कसरी सञ्चालित भएका छन् भन्ने परिचय बाहिर आउन जरुरी छ ।’

हमालले रेण्डरबुकिङ डटकमले नेपालमा नै पहिलो पटक खुला नोमिनेसन तथा गोप्य र आधुनिक प्रक्रियाबाट मूल्यांकन गरिने गरी विभिन्न १५ बढी विधामा नेपाल होटल अवार्ड २०२२ आगामी पुष ४ गते सञ्चालन गर्नुले कोरोना कालमा खुम्चिएको पर्यटन र अर्थतन्त्रको विकासका लागि सहयोग पुग्ने बताए ।