काठमाडौँ। फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ।
खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिए पछि संघले फिफामा उजुरी दिएको हो। उक्त गोलले मान्यता नपाएपछि ट्युनिसियाविरुद्धको खेलमा फ्रान्स १-० ले पराजित भएको थियो।
एजुकेसन सिटी स्टेडियममा ट्युनिसिया विरुद्ध एक गोलले पछि परेको अवस्थामा ग्रिजमनले इन्जुरी टाइमको अन्तिम तथा आठौं मिनेटमा गोल गरेका थिए। तर रेफ्री म्याथ्वु कोङ्गरले भीएआरको सहयोगपछि उक्त गोललाई अफसाइड दिएका थिए। जसले गर्दा फ्रान्स पराजित भयो। चुवामेनीले बल क्रस गर्दा ग्रीजमन अफसाइडमा देखिएका थिए। तर बल आइसकेपछि उनी अनसाइडमा देखिएका थिए।
एफएफएफले खेल सकिएको २४ घण्टा भित्रमा फिफामा उजुरी हाल्न पाउने जनाएको छ। यसबारे अन्य केही जानकारी भने आएको छैन। साविक विजेता फ्रान्सले सन् २०१४ मा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएयता विश्वकपमा पहिलो पटक पराजित भएको हो।
हारका बावजुत पनि समूह ‘डी’ मा ६ अंक जोड्दै फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। फ्रान्सले अब समूह ‘सी’ को उपविजेता पोल्याण्डसँग खेल्नेछ।