काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब देशको गाडी हाँक्ने पालो आफूहरूको भएको बताएका छन्।
उर्वरा फाउन्डेसनले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पुराना पुस्ताका नेताहरूलाई यहाँसम्म ल्याएकोमा धन्यवाद दिँदै युवाहरूले नेतृत्व गर्नुपर्ने बताए।
‘मैले मेरो दलभित्र गर्न खोजेको त्यति मात्रै हो। तपाईंहरुले यहाँसम्म पुर्याइ दिनुभयो त्यसप्रति मेरो सम्मान छ। यो भन्दा अघि पनि गाडी हाँक्छु भन्नुभयो भने मेरो प्रश्न छ मेरो असन्तुष्टि छ,’ थापाले भने, ‘अब देशको गाडी तपाईंले होइन हामीले हाँक्ने हो। अब गाडी हाँक्ने पालो हाम्रो हो। अब हामीले चलाउँछौँ।’
प्रत्येक युगको एउटा समय हुने बताउँदै थापाले अहिलेको युगमा आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने बताए। ‘हाम्रो समाजको सन्तुलन ठीकढंगले भेट्न सक्नुपर्छ। कहाँ चित्त बुझाउने ? कहाँ चित्त नबुझाउने हो? चित्त बुझाउने ठाउँमा चित्त बुझाऊँ। चित्त नबुझाउने ठाउँमा नबुझाऊँ, प्रश्न गरौँ?’ थापाले भने, ‘सबै कुरामा चित्त बुझायौ भने समाज अगाडि बढ्न सक्दैन। सबै कुरामा असन्तुष्टि मात्रै राखियो भने पनि अगाडि बढ्न सक्दैनौँ। यसमा हामीले सन्तुलन मिलाउनै पर्छ।’
नेपालका पुराना नेतृत्वले अब नेपालको गाडी हाँक्न खोज्यो भने गति र गन्तव्य दुवैमा पुग्न नसकिने थापाले बताए। ‘उहाँहरू (पुराना नेताहरू) लाई आदर सम्मानपूर्वक भन्नुपर्छ यहाँसम्म पुर्याउनुभयो। धन्यवाद दिनुपर्छ’ थापाले भने, ‘तर फेरि पनि पुराना नेतृत्वले गाडी हाँक्न थाल्नुभयो भने हामीले असन्तोष व्यक्त गर्नैपर्छ। त्यसमा हामीले प्रश्न गर्नै पर्छ।’