३७ वर्षपछि सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गरिँदै



कालिकोट। कालीकोटको नरहरिनाथ गाउँपालिका(१, कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्ग कालोपत्र गर्न सुरूआत गरिएको छ ।

कालोपत्रको काम आगामी माघ मसान्तमा सक्ने लक्ष्य राखिएको छ । सो विमानस्थल २०४२ सालबाट निर्माण गर्न थालिएको थियो । आगामी माघ मसान्तभित्र धावनमार्ग कालोपत्रको काम सक्ने लक्ष्य राखिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए । ‘३७ वर्ष पुरानो विमानस्थलको टावर, भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम सुरू भइरहेको छ,’ उनले भने, ‘लामो समयदेखि काम नहुँदा अन्योलमा रहेको विमानस्थलले पछिल्लो समय गति लिन थालेको छ ।’

विगतको सशस्त्र द्वन्द्व, कोभिड लगायतका कारणले विमानस्थलको काम ढिलाइ भएको नरहरिनाथ(१, कोटवाडाका स्थानीय बलिराज विष्टले बताए । ‘कालोपत्रको काम सुरू भएपछि अब विमान चढ्न पाउने धोका पूरा होलाजस्तो भएको छ,’ उनले भने, ‘विमानस्थलको लामो समयदेखि निर्माणमा ढिलाइ भइरहेको छ।’

धावनमार्ग छ सय ९० मिटर लम्बाइ र ६० मिटर चौडाइ रहने चालु आर्थिक वर्षमा विमानस्थल पूर्ण रूपमा निर्माण काम सक्ने गरी काम भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले जानकारी दिए । ‘यो विमानस्थलको धावनमार्ग कालोपत्र, नाला निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘रिपिटर टावर निर्माण भइसकेको र उपकरण जडानको काम बाँकी रहेको छ । चालु आर्थिक वर्षमा नै पूर्ण रूपमा विमानस्थल सञ्चालनमा आउने छ ।’

विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने काम गौरी पार्वतीरश्याम एन्ड शंकर जेभीले ठेक्का लिएको र गौरी पार्वती श्याम एन्ड शंकर जेभीले नाला, माटो काट्ने कामको ठेक्का लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको धावनमार्ग निर्माण, नाला काट्ने, माटो सम्याउनका लागि १३ करोड ८१ लाख रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको प्राधिकरणले जनाएको छ ।

यो पनि पढ्नुहोस्

३४ वर्षमा पनि बनेन ‘चिलगाडी बस्ने ठाउँ’