स्कटिश फुटबलले खेलको अघिल्लो दिन र भोलिपल्ट हेडिङ गर्न प्रतिबन्ध लगाउने



काठमाडौँ। स्कटल्यान्डका व्यावसायिक फुटबलरलाई खेलको अघिल्लो दिन र भोलिपल्ट प्रशिक्षणमा बल हेडिङ गर्न प्रतिबन्ध लगाइने भएको छ।

क्लबहरूलाई पनि हेडिङ दोहोरिने अभ्यास प्रतिहप्ता एउटामा मात्र सीमित राख्न भनिएको छ।

ग्लास्गो विश्वविद्यालयको एउटा अध्ययनले पूर्व फुटबल खेलाडीहरूको मस्तिष्कसँग सम्बन्धित रोगका कारण मृत्यु हुने सम्भावना साढे तीन गुणाले बढी हुने देखाएपछि यो नयाँ निर्देशन आएको हो।

विज्ञहरूका विश्वासमा त्यस्तो हुनुमा बारम्बार गरिने हेडिङ कारण हुनसक्छ।

द स्कटिश फुटबल एसोसिएसन (एसएफए) ले यसअघि नै युवा तथा किशोर फुटबलरले हेडिङको मात्रा सीमित राख्नुपर्ने निर्देशिका बनाइसकेको छ।

उक्त निर्देशिका अनुसार १२ वर्ष मुनिका बालबालिकालाई दिइने प्रशिक्षणमा हेडिङ गर्न प्रतिबन्ध लगाइएको छ।

स्कटल्यान्ड विश्वमै सबै खेलहरूका लागि आघातसम्बन्धी निर्देशिका बनाउने पहिलो देश हो।

यदि शङ्का छ भने त्यस्ता क्रियाकलाप नगर्नुहोस् भन्ने अभियानका साथ सबै खेलहरूका लागि उसले त्यस्तो निर्देशिका बनाएको थियो।

स्कटल्यान्डका व्यावसायिक पुरुष तथा महिला खेलका ५० क्लबहरूसँगको परामर्श र क्लबहरूको हेडिङ प्रवृत्तिबारे एसएफएको सर्वेक्षणपछि नयाँ निर्देशिका ल्याइएको हो।

क्लबहरूलाई समग्र बोझ कम गर्ने उद्देश्यले प्रशिक्षणमा हेडिङ गतिविधिको अनुगमन गर्न पनि भनिएको छ।

स्मरणशक्तिमा हानी

डा.जोन मक्लेन बीस वर्षभन्दा बढी समयदेखि एसएफएका चिकित्सक रहेका छन्।

उनी सन् २०१९ को एउटा स्थलगत अध्ययनमा संलग्न थिए। त्यसले पूर्व व्यावसायिक खेलाडीहरूमा डिमेन्सियाको सम्बन्धलाई उजागर गरेको थियो।

अनुसन्धानको क्रम जारी छ तर हामीले हेडिङ र मस्तिष्कमा यसको प्रभावबारे थाहा पाइसकेका कुरा के हो भने-हेडिङको शृङ्खलापछि २४ देखि ४८ घण्टासम्म स्मरण शक्तिमा मापनयोग्य हानी हुन्छ,” उनले भने।

“त्यसले हेडिङको छोटो समयपछि रगतका नमुनामा मस्तिष्कसँग सम्बन्धित प्रोटिनहरू पत्ता लगाउन सकिन्छ भन्ने पनि देखाउँछ।

फुटबलरहरूमा मस्तिष्कको स्क्यान गर्दा परिवर्तनहरू पनि देखिएको पाइएको छ त्यो पनि हेडिङसँग सम्बन्धित हुन सक्छ।

त्यसैले हाम्रो लक्ष्य तालिममा हेडिङको समग्र जोखिम घटाएर कुनै पनि सम्भावित प्रभावलाई कम गर्नु हो।

नयाँ निर्देशिकाका कारण धेरै प्रशिक्षण गतिविधिहरू परिवर्तन हुनेछन्। त्यसमा खेलको अघिल्लो दिनका ‘सेट-पिस’ अभ्यासहरू पनि समावेश हुनेछन्।

हामीले यसका लागि हाम्रो समय लियौँ किनभने हामी वास्तवमै फुटबलमा सरोकारवालाहरूसँग संलग्न हुन चाहन्छौँ, उनले भने।

हामी आधारभूत अवधारणा प्राप्त गर्न प्रशिक्षणमा कति हेडिङ भइरहेको छ भनेर निर्धारण गर्न चाहन्थ्यौँ।

त्यसपछि पीएफए स्कटल्यान्ड मार्फत खेलाडीहरूसँग, क्लबहरूसँग र एफएमार्फत कोचहरू र प्रशिक्षकहरूसँग पनि संलग्नताको प्रक्रिया थियो।

यो सबै सामूहिक जिम्मेवारी र खेलाडीको स्वास्थ्य सुरक्षा एवम् कल्याणको बारेमा थियो।

खेलमा हेडिङ

एसएफएका प्रमुख फुटबल अधिकारी एन्डी गुल्डले खेलमा हुने हेडिङबारे पहिले नै धेरै विवरणहरू उपलब्ध रहेको बताए।

तर उनले पछिल्लो अनुसन्धान प्रशिक्षण वातावरणमा हेडिङ-लोड कति हदसम्म छ भन्ने बुझ्न अमूल्य रहेकोू बताए।

उनले भने, हामीलाई सूचना, विवरण र छलफलका लागि आवश्यक जानकारी एवम् दृष्टिकोण प्रदान गरिदिएकामा म क्लबहरू, प्रबन्धकहरू र खेलाडीहरूप्रति आभारी छु।”

“त्यो हाम्रा खेलाडीको सुरक्षा र कल्याणका लागि बनाइएको निर्देशिकाका रूपमा प्रकाशनमा आएको छ। यस वर्षको सुरुमा इङ्गल्यान्डको फुटबल एसोसिएसनले क्लबहरूका लागि निर्देशिका ल्याएको थियो।

त्यसले खेलाडीले प्रशिक्षणको क्रममा प्रतिहप्ता १० वटा उच्च प्रभावयुक्त हेडर मात्र गर्न पाउने उल्लेख गरेको छ।

हालैका वर्षहरूमा कतिपय उच्च प्रतिष्ठित पूर्व फुटबलरहरूको मृत्यु डिमेन्सियाका कारण भएको छ।

त्यसमा पूर्व सेल्टिक कप्तान बिली म्याकनिल र इङ्ल्यान्डका पूर्व विश्वकप विजेता तथा रिपब्लिक अफ आयरल्यान्डका प्रबन्धक ज्याक चार्लटनलगायत छन्।

फुटबल खेल्दा धेरै शारीरिक र मानसिक फाइदाहरू छन् तर खेलमा हेडिङ कम गर्न हालैका वर्षहरूमा चालिएका कदमहरूले फुटबललाई दीर्घकालीन मस्तिष्क आघातसँग जोड्ने विज्ञानको बारेमा बढ्दो चिन्तालाई झल्काउँछ।

स्कटिस क्लबहरूको केही सीमित असहमतिबिच नयाँ निर्देशिकामा खेलाडीहरूलाई प्रशिक्षण दिने र कोच गर्ने तरिकालाई नाटकीय रूपमा परिवर्तन गर्न सक्छ।

नयाँ निर्देशिका लागु गरिएपछि वा नयाँ अध्ययनहरू प्रकाशित भएपछि त्यसले के फुटबलमा हेडिङ सुरक्षित छरु भन्ने आधारभूत प्रश्न सधैँ जन्माउने गर्छ।

विज्ञानले पूर्व व्यावसायिक खेलाडीहरूलाई के भइरहेको छ भनेर देखाएको छ तर अहिलेसम्म किन त्यस्तो भयो भन्ने निर्धारण गर्न सकेको छैन।

पछिल्लो तथ्याङ्कले डिफेन्डरहरूलाई जोखिम बढी रहेको देखाउँछ किनकि उनीहरूले अधिक र प्रायस् हेडिङ गर्ने गरेको तथ्याङ्कहरूले देखाउँछन्।

निश्चित प्रश्नहरूको जवाफ दिने विवरणहरू पाउन दशकौँ लाग्न सक्छ तर विज्ञान त्यसलाई पर्खन तयार छैन।

शैली र रणनीतिको विकासले जे भए पनि खेलमा कम हेडरहरूको अर्थ छ।

तर यदि परिवर्तनहरू जारी रहे भने बढ्दो वैज्ञानिक प्रमाण र दबावका कारण भविष्यमा हेडिङ विनाका खेलको कल्पना गर्न सकिँदैन भन्न सकिन्न। बीबीसीबाट