काठमाडौँ। प्रतिनिधि तथा प्रदेश निर्वाचन २०७९ को पूरा मत परिणाम नआउदै कसले नेतृत्व लिने ? भन्ने प्रश्न सतहमा आएको छ। कुनै पनि दलको बहुमत नआएका कारण सत्ता गठबन्धनभित्रका दलमध्ये कुनै एक दलले सरकारको नेतृत्व लिन सक्ने राजनीतिक विश्लेषणहरु सुनिन थालेका छन्।
चुनावको पूरा विवरण नआए पनि आजसम्मको परिणाम अनुसार कांग्रेस ठूलो दल बन्ने करिब पक्का पक्कि जस्तै छ। यस हिसाबमा उक्त दलभित्रका शीर्ष नेताहरुले आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नु राजनीतिक रुपमा स्वभाभिक छ।
यसै क्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि प्रधानमन्त्रीको आकांक्षीका रुपमा अघि बढेको एक स्रोतले जानकारी दिएको छ। पार्टी सभापति शेरबहादुर देउवा पछिका शीर्ष नेता खड्का रणनीति, राजनीति, नैतिक र निष्ठावान नेताका रुपमा परिचित छन्।
पूर्णबहादुर खड्काका निकटस्थ मानिने कांग्रेसका युवा नेता तथा सामाजिक अभियन्ता अशोक योगीले राज्यको मुल नेतृत्व लिने क्षमता खड्कामा रहेको बताए। साथै उनले कर्णालीले देशको नेतृत्व लिनुपर्नेमा कुनै दुईमत नरहेको समेत दाबी गरे।
कर्णाली सन्देशसँगको संक्षिप्त कुराकानीमा नेता योगीले भने, ‘जोस् र होस् भएका, गठबन्धनका सुत्राधार अनुभबी, समकालीन राजनीतिका सफल नेता आदरणीय उपसभापती पूर्णबहादुर खड्कालाई प्रधानमन्त्री बनाऔं। यसमा कर्णालीको मात्र होइन, राष्ट्रकै हित हुनेछ।’
उनले अगाडि भने, ‘अहिले कांग्रेसमा जतिपनि प्रधानमन्त्रीका लागि लविङ गरिरहनु भएको छ, पार्टी सभापति बाहेकका नेताहरुभन्दा योजना, क्षमता, दृष्टिकोण, विगत, वर्तमान र आगतमा पनि केही गरेर देखाउने नेता भनेको पूर्णबहादुुर खड्का नै हो। यसका अलवा उहाँ अन्य राजनीतिक शक्तिलाई मिलाएर लैजान सक्ने नेता पनि हो। पार्टीको आन्तरिक प्रतिष्पर्धामा जिल्ला तहदेखि केन्दीय तहसम्मको नेतृत्व गरि सक्नु भएको छ। एक अनुभवि नेताका रुपमा पनि उहाँले सरकारको नेतृत्व लिदा राम्रै हुन्छ।’
कांग्रेस नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शशांक कोइरालाले मात्र होइन, महामन्त्री गगनकुमार थापाले पनि निर्वाचनअघि नै आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्। निर्वाचनको अन्तिम परिणाम आएपछि हुने पार्टी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री थापाले बताउँदै आएका छन्।