काठमाडौँ। नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । चुनावी परिणामबारे छलफल गर्न मंगलबार बसेको सचिवालयको बैठकले गठबन्धनलाई कायम राखेर जाने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरूले सतर्क हुनुपर्ने आवश्यकताको महसुस गरेको बताए । उनले गठबन्धनका दलहरूका बीचमा भइरहेको सहकार्यलाई अगाडी बढाएर लानुपर्ने बताए । त्यस्तै सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राखेको सन्दर्भमा सो विषयमा समेत छलफल भएको उहाँले जानकारी दिए । बैठकमा उदयपुर जिल्लाको विषयमा पनि छलफल भएको उनले बताए ।
उनले भने – ‘हाम्रो पार्टीले देशभर पाएको मतको छलफल ग¥यौँ । इलाम र उदयपुर बारे छलफल गर्यौँ । इलाममा अनेकौँ खालका विसङ्गतिहरू देखिए । विसङ्गति देखिएको सन्दर्भमा उम्मेदवार हुनुभएका झलनाथ खनालले गम्भीर आपत्ति जनाएर वक्तव्य दिनुभएको सन्दर्भमा कुनै कानुनी उपचारमा जाने र पुनः मतदानको माग गर्ने कुरा उहाँले उठाउनुभएको छ । त्यस बारेमा छलफल भएको छ । राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडी बढ्छ भन्ने कुराको सन्दर्भमा हामीले गम्भीर चिन्तन, मनन ग¥यौँ । देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने कुरालाई हामीले गम्भिरताकासाथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस ग¥यौँ । यस हिसाबमा गठबन्धनका दलहरूसँगको हाम्रो सहकार्य छ, त्यो सहकार्यलाई अगाडी बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ ।’
एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनको भावनाबाट अगाडि बढ्ने निष्कर्ष निकालिएको बताए। उनले भने, ‘ गठबन्धनलाई निरन्तरता दिनुपर्छ । गठबन्धनले निरन्तरता प्राप्त पनि गर्छ। गठबन्धनको बहुमत पनि पुग्छ।’
मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई चित्त बुझाउनको विकल्प नभएको बताए। उनले भने, ‘अपेक्षाकृत परिणाम आएन। चुनाव परिणाममा चित्त बुझाउनुपर्छ । अरु कुरामा समीक्षा गरेर अगाडि बढ्ने निर्णय भएको छ।’