ओलीको प्रश्न: घण्टी पार्टीलाई कसले हावा भर्‍यो ?



काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय रहस्यमय रहेको टिप्पणी गरेका छन्।

मंगलबार नवनिर्वाचित एमालेका सांसदहरुलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अमेरिकामा रहेको पार्टीको दुरुस्तै नेपालमा कसरी भयो भन्दै प्रश्न गरे।

उनले भने, ‘संयोग नै भनौँ अमेरिकामा एउटा फ्रिडम पार्टी भन्ने छ। त्यसको चिन्ह घण्टी छ। फ्रिडम पार्टी अफ अमेरिका, त्यसको चिन्ह घण्टी छ। दुरुस्त आकारको, फोटो खिचेजस्तो दुरुस्त आकारको घण्टी चिन्ह यहाँ पनि ल्याएको छ। फ्रिडम पार्टी भनेको छ, संयोग नै होला। अस्तिसम्म स्याप्पै थियो त्यो पार्टी, हावा नहाली कसरी हुप्प भयो? केही त होला।’

उनले यसबारे थप टिप्पणी गर्ने पक्षमा आफू नरहेको समेत उल्लेख गरे। आम निर्वाचनबाट रवि लामिछाने नेतृत्वको सो पार्टी उदाएको छ। सो पार्टीले प्रतिनिधिसभामा ७ सिट जितेको छ भने समानुपातिकमा पनि उल्लेख्य मत पाएको छ।