कालिकोटमा तीन दशकपछि कांग्रेसका बिष्ट विजयी



कालिकोट। कालिकोटमा तीन दशकपछि कांग्रेसले जित निकालेको छ।

प्रदेशसभा (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट विजयी भएका छन्। जम्मा खसेको मतमा विष्टले ७ हजार ९४४ मत अन्तरले प्रदेश सभामा निर्वाचित भएका हुन्।

१३ हजार ७८३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वीरेन्द्र बोगटी पराजित भएका छन्। बोगटीले ५ हजार ८३९ मत प्राप्त गरेका छन्। ​कालिकोट प्रदेश (ख) मा माओवादीको साथमा ३० वर्षपछि कांग्रेसले जित हासिल गरेको हो। २०४८ सालमा तिकलप्रसाद न्यौपानेले कालिकोटमा चुनाव आफ्नो पक्षमा पारेका थिए।

को हुन् हिक्मत बिष्ट ?

कालिकोट जिल्लाको साविकको लालु गाविसमा ‘हाल (नरहरिनाथ गापा) २०१५ सालमा जन्मिएका नेता बिष्टले जीवनमा निक्कै संघर्षका दिनहरु बिताएका छन्। माओवादी कालमा उनलाई सांघातिक आक्रमण भएको थियो। संयोग भन्नुपर्छ उनै बिष्टले माओवादीको सहयोगमा संसदीय यात्रालाई सफल बनाएका छन्।

बिष्ट केही समय पहिले  कोभिड-१९ र डेंगीको संक्रमणका कारण थला परेका थिए। निक्कै लामो उपचारपछि सहज जीवनमा फर्केका बिष्ट पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। उनी कम्युनिष्ट पृष्ठभूमिका नेता हुन्।