रामकुमारी एमालेमा फर्किन लागेकी हुन् ?



काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री चर्चाको आइरहने पात्र हुन्।

एकपटक मन्त्री समेत भएकी झाँक्री सत्तामा हुँदा होस् या पार्टी जीवनमा हुँदा नै किन नहोस् चर्चाको पात्र रहिरहिन्। उसो त उनी सत्तामा हुँदा आलोचित पनि नभएकी होइनन्, तर, उनी लागेको खुलस्त भन्छिन्।

माधवकुमार नेपालले एकीकृत समाजवादी गठन गरेपछि सो पार्टीतिरै लागेकी रामकुमारी यतिबेला फुर्सदमा छिन्। फुर्सद यसकारण कि उनी गुल्मी २ बाट एमालेका गोकर्ण विष्टसँग पराजित हुन पुगिन् । विजयी उम्मेदवार विजय जुलुससहित गाउँगाउँमा धन्यवाद दिन व्यस्त भइरहेका बेला उनी भने फुर्सदमा रहेकी हुन् ।

यही क्रममा उनले भैरहवा विमानस्थलमा हुँदाको फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिरमा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराई देखिएका छन् । दुई नेताको बीचमा देखिएकी उनले फेसबुकमा फोटोसहित लेखेकी छन्, ‘तस्बिरमा सन्देश छ ।’ उनले के सन्देश हो भन्ने त खुलाएकी छैनन्, कतिपयले झाँक्री फेरि एमालेमा फर्किन लागेको त होइन भन्ने अड्कल काटेका छन् ।

यस विषयमा थप बुझ्न झाँक्रीलाई रातोपाटीले सम्पर्क गरेको थियो । तर, उनले फोन उठाइनन् । उनले भनेजस्तै झाँक्रीले के सन्देश दिन खोजेको हुन् त्यो भने खुल्दै जाला नै । स्मरणरहोस्, झाँक्री एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा उदाएकी नेतृ हुन् । रातोपाटीबाट साभार