प्रधानमन्त्रीमा मलाई कसैले रोक्न सक्दैन : गगन थापा



काठमाडौँ ।काठमाडौँ ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्ने यात्रामा आफूलाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।

आफू त्यस यात्रातर्फ अघि बढिसकेको र अब पछाडि फर्किने ठाउँ नभएको बताउँदै थापाले भने, ‘मलाई म बाहेक अरू कसैले रोक्न सक्दैन, म आफूलाई रोक्दिनँ ।’

यस विषयमा अहिले निर्वाचित भएर आएका प्रतिनिधिहरूसँग छलफल गरिरहेको थापाको भनाइ छ । सबै क्षेत्रको निर्वाचन परिणाम आएपछि पार्टी सभापति देउवाको घरैमा गएर उक्त विषयमा छलफल गर्ने पनि थापाले बताए । उनले पूर्वप्रधानमन्त्रीहरुलाई इङ्गित गर्दै भने, ‘अब उहाँहरूले नै सरकार चलाउनुपर्ने बाध्यता छैन, किनकि हामीहरू तयार भइसक्यौँ ।’

घरमा आफूभन्दा कान्छो सदस्य तयार भइसकेपछि अभिभावकहरूले ढुक्कले बस्दा हुने बताउँदै थापाले उनीहरूले विश्राम गर्नु पर्ने तर्क गरेका छन् । अब नयाँ सरकार दिँदै गर्दा नयाँ नेतृत्व, नयाँ सोच र शैली दिएन भने पार्टीले एकदमै ठूलो क्षति बेहोर्नु पर्छ भन्ने कुरा यस पटकको मत परिणामबाटै नेपाली कांग्रेसले बुझ्नु पर्ने उनको भनाइ छ ।