काठमाडाैँ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले सबैभन्दा ठूलो दल थियो । १६ निर्वाचन क्षेत्रमध्ये नेकपा एमालेका उम्मेदवारले ११ र माओवादी केन्द्रबाट पछि एमालेमा प्रवेश गरेका २ जना गरेर १३ सिट एमालेको थियो ।
आफू एक्लैले ११ सिट जितेको नेकपा एमालेले २०७९ को निर्वाचनमा भने २ सिटमा सीमित हुनु परेको छ । बाजुराको मत परिणाम आउन बाँकी रहँदा त्यो बाहेकको १५ निर्वाचन क्षेत्रमध्ये एमाले २ सिटमा मात्र विजयी भएको हो ।
यी थिए २०७४ मा एमालेले जितेका क्षेत्र
२०७४ को निर्वाचनमा तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा नेकपा एमालेले २ वटा निर्वाचन क्षेत्रमा जितेको थियो । माओवादी केन्द्रसँग तालमेल गरेर निर्वाचन लडेको एमालेले क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी बीना मगरलाई सहयोग गरेको थियो ।
निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका नरबहादुर धामी निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका नारायण प्रसाद साउदलाई पराजित गरेका थिए । त्यस्तै क्षेत्र नम्बर ३ मा नेकपा एमालेका दीपक प्रकाश भट्ट निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका रमेश लेखकलाई २५८ मतान्तरले पराजित गरेका थिए ।
डडेल्धुरामा भने नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएका थिए । उनले वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई पराजित गरेका थिए । बैतडीमा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारी निर्वाचित भएका थिए । उनले कांग्रेसका उम्मेदवार नरबहादुर चन्दलाई ११ हजार २३३ मतान्तरले पराजित गरेका थिए ।
दार्चुलामा नेकपा एमालेका गणेश सिंह ठगुन्ना निर्वाचित भएका थिए । उनले कांग्रेसका विक्रम सिंह धामीलाई ६ हजार ७६५ मतान्तरले पराजित गरेका थिए । कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय जनता पार्टी नेपालका रेशमलाल चौधरी निर्वाचित भएका थिए । चौधरीले शाहलाई २० हजार ९३५ मतान्तरले पराजित गरेका थिए ।
कैलाली क्षेत्र नम्बर २ मा नेकपा एमालेका झपट बहादुर रावल निर्वाचित भएका थिए । उनले कांग्रेसका मोहनसिंह राठौरलाई पराजित गरेका थिए । कैलाली क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्रका गौरीशंकर चौधरी निर्वाचित भएका थिए । पछि उनी नेकपा एमाले प्रवेश गरेका थिए ।
कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रका लेखराज भट्ट विजयी भएका थिए । उनी पछि नेकपा एमाले प्रवेश गरेका थिए । कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नारदमुनि राना निर्वाचित भएका थिए । उनले कांग्रेसकी आरजु राणा देउवालाई ४ हजार ८८० मतान्तरले पराजित गरेका थिए ।
डोटीबाट नेकपा एमालेका प्रेम बहादुर आले निर्वाचित भएका थिए । उनले कांग्रेसका विरबहादुर बलायरलाई १६ हजार ३२ मतान्तरले पराजित गरेका थिए । पछि पार्टी विभाजन हुँदा आले नेकपा एकीकृत समाजवादीतिर लागे ।
२ वटा निर्वाचन क्षेत्र रहेको अछाममा दुवै क्षेत्र एमालेले जितेको थियो । क्षेत्र नम्बर १ बाट नेकपा एमालेका डा. भीम बहादुर रावल निर्वाचित भएका थिए भने क्षेत्र नम्बर २ बाट एमालेकै यज्ञ बहादुर बोगटी निर्वाचित भएका थिए ।
बझाङमा समेत एमालेका भैरब बहादुर सिंह निर्वाचित भएका थिए । उनले कांग्रेसका पृथ्वीबहादुर सिंहलाई ७ हजार ६९२ मतान्तरले पराजित गरेका थिए । बाजुरामा समेत एमालेका लालबहादुर थापा विजयी भएका थिए । उनले कांग्रेसका कविराज पण्डितलाई ४ हजार ८८४ मतान्तरले पराजित गरेका थिए ।
२०७९ को चुनावमा २ सिटमा खुम्चियो एमाले
२०७४ सालको निर्वाचनमा ११ सिट जितेको एमालेलाई यो पटकको चुनावमा आफ्नो साख जोगाउन समेत हम्मेहम्मे परेको छ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट तारा लामा तामाङ र बैतडीबाट दामोदर भण्डारी बाहेक कुनै पनि उम्मेदवारले चुनाव जित्न सकेनन् ।
कञ्चनपुर १ मा तामाङले माओवादी केन्द्रकी वीना मगरलाई पराजित गर्दै कञ्चनपुरमा एमाले निल हुनबाट जोगाएका हुन् । बैतडीमा भने भण्डारीले अघिल्लो चुनावको विजय यात्रालाई यो पटक पनि निरन्तरता दिन सफल भएका हुन् ।
कञ्चनपुर–१ बाट लामा २४ हजार ८९२ मतसहित विजयी भएका हुन् । उनले माओवादी केन्द्रकी मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरे । मगरले १९ हजार ३४६ मत पाइन् ।
कञ्चनुपरका २ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले जित निकालेको छ । क्षेत्र नम्बर २ मा कांग्रेसका नारायण प्रसाद साउद विजयी भएका छन् । उनले एमालेका नर बहादुर धामीलाई ६ हजार ४५५ मतान्तरले पराजित गरेका हुन् । धामी यो क्षेत्रका निवर्तमान सांसद् हुन् । साउदले २८ हजार १०० मत पाए भने धामीले २१ हजार ६४५ मत पाए ।
त्यस्तै कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका रमेश लेखक विजयी भएका छन् । उनले एमालेकी निरु पाललाई १२ हजार ७५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मत पाइन् ।
बैतडीबाट निर्वाचित भएका एमालेका भण्डारीले ३३ हजार ६११ मत पाए । उनले माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र बहादुर कुँवरलाई एक हजार ५३१ मतान्तरले पराजित गरेका हुन् । कुँवरले ३२ हजार ८० मत पाए ।
दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्र प्रसाद बडु निर्वाचित भएका छन् । उनले २८ हजार ५१५ मत पाए । उनले एमाले उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतान्तरले पराजित गरेका हुन् । ठगुन्नाले २६ हजार ३८१ मत पाए । ठगुन्नाले २०७४ सालको निर्वाचनमा बडुलाई नै हराएका थिए ।
डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले स्वतन्त्र उम्मेदवार सागर ढकाललाई १२ हजार ४९२ मतान्तरले पराजित गरे । देउवाले २५ हजार ५३४ मत पाउँदा ढकालले १३ हजार ४२ मत पाए । डडेल्धुरामा एमालेले आफ्नो उम्मेदवार उठाएको थिएन । एमालेले नेपाली कांग्रेस (वीपी)का कर्ण बहादुर मल्ललाई सहयोग गरेको थियो । मल्लले ७ हजार ५३५ मत पाए ।
२०७० को निर्वाचनमा २ सिट जितेको कैलालीमा यो पटक एमाले शून्य भएको छ । पाँच सिट रहेको कैलालीमा तीन वटा क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी र दुई वटा सिटमा नेपाली कांग्रेस विजयी भएको छ ।
कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, क्षेत्र नम्बर २ नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी र कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भए ।
कैलाली–४ कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन् । उनले एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पराजित गरे ।
कैलाली ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन् । उनले एमालेका उम्मेदवार नारदमुनि रानालाई एक हजार ७४ मतान्तरले पराजित गरेका हुन् ।
डोटीबाट नेकपा एकीकृत समाजवादीका प्रेम बहादुर आले विजयी भएका छन् । उनले एमालेकी गौरी कुमारी ओलीलाई ४ हजार २८६ मतान्तरले पराजित गरेका हुन् । आलेले २७ हजार २९० मत पाए भने ओलीले २३ हजार ४ मत पाइन् ।
२ वटा निर्वाचन क्षेत्र रहेको अछाममा एमाले निल भएको छ । २०७४ सालको निर्वाचनमा २ वटै क्षेत्र जितेको थियो ।
त्यस्तै बझाङबाट पनि नेकपा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । समाजवादीका भानुभक्त जोशी २८ हजार ४१३ मतसहित निर्वाचित भएका हुन् । एमालेका ऐन बहादुर महरले २७ हजार ४१२ मत पाए । जोशीले महरलाई एक हजार एक मतान्तरले पराजित गरेका हुन् ।
बाजुरामा भने विवादका कारण अझैसम्म मतगणना सुरू हुन सकेको छैन ।
अछाममा एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई टिकट नदिए झपट बहादुर रावललाई उम्मेदवार बनाएका थिए । उम्मेदवार बन्न नपाएपछि रुष्ट रहेका भीम रावल मतदानको अघिल्लो दिनमात्रै अछाम गएका थिए । उनी कुनै पनि उम्मेदवारको चुनावी प्रचार प्रसारमा सहभागी भएका थिएनन् ।
अछाम–१ मा नेकपा एकीकृत समाजवादीका शेर बहादुर कुँवर विजयी भएका छन् । उनले एमालेका रावललाई ४ हजार ४८९ मतान्तरले पराजित गरेका थिए । कुँवरले १९ हजार ५३४ मत पाउँदा रावलले १५ हजार ४५ मत पाए । त्यस्तै अछाम–२ मा कांग्रेसका पुष्प बहादुर शाह विजयी भएका छन् । उनले एमालेका यज्ञ बहादुर बोगटीलाई ६ हजार ८४० मतान्तरले पराजित गरेका हुन् । शाहले २२ हजार ९५४ मत ल्याए भने बोगटीले १६ हजार ११४ मत पाए ।