सुर्खेत। सत्ता गठबन्धनबीच भएको ‘भद्र सहमति’ बमोजिम एकीकृत समाजवादीले प्रदेशसभाका विभिन्न १८ स्थानमा आफ्ना उम्मेदवार उठाएको छ । ती ठाउँमा एकीकृत समाजवादी र गठबन्धन दलका अन्य उम्मेदवारबीच ‘मित्रवत्’ प्रतिस्पर्धा हुँदैछ । एकीकृत समाजवादीले मितवत् प्रतिस्पर्धा हुने क्षेत्रमध्ये सुर्खेतको प्रदेशसभा २ (२) लाई जित्ने सूचीमा राखेको छ । उक्त क्षेत्रमा एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहनसिंह बडुवाल उम्मेदवार रहेका छन् ।
पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका र चौकुने गाउँपालिका समेटिएको उक्त क्षेत्रमा कूल ५६ हजार ४७ मतदाता रहेका छन् । गत स्थानीय तहको मत परिणाम केलाउँदा एकीकृत समाजवादी चौथो स्थानमा रहेको छ । कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो ठूलो दलको रुपमा रहेका छन् । तैपनि एकीकृत समाजवादीले बडुवाललाई जित्ने सूचीमा राखेको छ । यसको प्रमुख कारण जनस्तरमा रहेको उनको लोकप्रियता हो ।
बडुवालले पश्चिम सुर्खेतमा जनताको ‘सच्चा सेवक’ को परिचय बनाएका छन् । वीरेन्द्रनगरमा कसैको नागरिकता बनाउनु पर्यो ? वा, नापी–मालपोतमा जग्गासम्बन्धी काम गर्नु पर्यो ? अथवा, प्रहरीमा कुनै झैझमेला आइलाग्यो ? बडुवाल मान्छेलाई आफ्नो मोटरसाइकलको पछाडि राखेर आफै कार्यालय दौडिन्छन् । विगतमा एमालेको जिल्ला सचिव र हाल एकीकृत समाजवादीको जिल्ला अध्यक्ष जस्तो पदमा पुगे पनि उनी सामान्य कार्यकर्ताले झैं सेवामा तल्लिन हुने गर्छन् । त्यतिमात्र होइन, गाउँघरका स–साना समस्यादेखि विकासका ठूला योजनाको लागि उनी गाउँपालिकादेखि सिंहदरबारसम्म दौडिन्छन् । उनी पश्चिम सुर्खेतका जनताको सुखदुःखमा सधैं सँगसँगै रहने नेताको रुपमा परिचित छन् । उनको यही लोकप्रियताले चुनाव नजिकिँदै जाँदा पश्चिम सुर्खेतमा बडुवालको बहाव (माहोल) बढ्दै गएको छ । ‘प्रदेशसभातर्फ सुर्खेत को २ (२) लाई हामीले जित्ने क्षेत्रको सूचीमा राखेका छौं, बडुवालजीको जनस्तरमा लोभलाग्दो लोकप्रियताले यस्तो संभावना बढेको हो,’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने ।
सुर्खेत क्षेत्र नं. २ (२) मा गठबन्धनबाट अर्का उम्मेदवार माओवादी केन्द्रका बिन्दमान बिष्ट, एमालेका ताराकेशर गौतम, राप्रपाका कर्णबहादुर रेगामी मगर र नेमकिपाका गगन कामी उम्मेदवार रहेका छन् । कात्तिक ११ गते कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्धारा जारी प्रेस विज्ञप्तिमा पनि सुर्खेत २ (२) मा गठबन्धनको आधिकारिक उम्मेदवारको रुपमा बिष्ट र बडुवाल दुबै जनालाई राखिएको छ । यसले गर्दा पनि गठबन्धनको भोट बाँडिने संभावना औंल्याउँछन्, पञ्चपुरीका कांग्रेस कार्यकर्ता प्रेमबहादुर खत्री । ‘प्रदेशसभामा कांग्रेसको उम्मेदवार छैन, गठबन्धनबाटै बिष्ट र बडुवाल दुईजना उठेका छन् । त्यसैले हामीलाई दुईमध्ये एक जनालाई रोज्ने अवसर मिलेको छ,’ उनले भने ।
प्रतिनिधिसभातर्फ सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी उम्मेदवार रहेका छन् । कांग्रेसलाई उनको जितको लागि चौथो ठूलो शक्ति एकीकृत समाजवादीभन्दा तेस्रो ठूलो शक्तिको रुपमा रहेको माओवादी केन्द्रको साथ अपरिहार्य रहेको छ । त्यसैले पश्चिम क्षेत्रको चुनावी अभियानमा कांग्रेस र माओवादी केन्द्र सँगसँगै हिँड्ने गरेका छन् । कांग्रेसका नेताहरु पनि माओवादीलाई चिढाउन चाहँदैनन् । कांग्रेसकै कार्यकर्ताको ठूलो पंक्ति भने बडुवालको पक्षमा देखिन्छ । ‘एकातिर हाम्रो (कांग्रेसको) उम्मेदवार नरहेको अवस्था र अर्कोतिर गठबन्धनबाट दुईजना उम्मेदवार चुनावी मैदानमा भएको अवस्थामा हामीलाई मन लागेको उम्मेदवार छान्ने अवसर रहेको छ,’ पश्चिम सुर्खेतका एक कांग्रेस कार्यकर्ताले भने, ‘थानी दाइको लागि हाम्रा नेताहरुलाई माओवादीको पछाडि लाग्नु पर्ने बाध्यता रहे पनि प्रदेशसभातर्फ भने हामी स्वतन्त्र छौं ।’
ती कार्यकर्ताले भने झैं पश्चिम सुर्खेतमा बडुवालको पक्षमा जवरर्जस्त माहोल बन्दै गएको छ । ग्रासरुटका कतिपय कांग्रेसी मतदाता खुलेआम लागेका छन् भने एमालेको एक पंक्ति पनि भित्रभित्रै उनको पक्षमा लागेको देखिन्छ । सायद यही कारण पनि एकीकृत समाजवादीले बडुवाललाई जित्ने सूचीमा राखेको छ ।
बडुवालका प्रचार प्रवन्धक कमल कठायतले बिगत लामो समयदेखिको जनतासँगको न्यानो सम्बन्ध, विगतमा जनताको सच्चा सेवक भएर काम गरेको अनुभव र परिचित स्थानीय अनुहार हुनुले चुनावी वातावरण अनुकूल बन्दै गएको बताए । ‘मतदातामा पार्टीमात्र होइन, उम्मेदवारको अनुहार पनि हेर्नुपर्छ भन्ने भावनाको विकास भएको छ,’ उनले भने, ‘त्यतिमात्र होइन, पश्चिमका जनताले उहाँलाई स्वर्गीय तप्तबबहादुर बिष्टको अभाव पूरा गर्ने उम्मेदवारको रुपमा हेर्नुभएको छ ।’