निर्वाचन परिणामपछि रिपब्लिकनहरूद्वारा ट्रम्पको आलोचना



काठमाडौँ। अमेरिकामा गत साता भएको मिडटर्म चुनावपछि माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएपछि रिपब्लिकन दल भित्र पुनः आरोपप्रत्यारोप देखिएको छ।

पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूले उनको खराब प्रदर्शनलाई हारको कारण ठहराएका छन्। अन्य रिपब्लिकनहरूले भने सिनेटमा उनीहरूको नेतृत्व गर्ने मिच मकोनललाई दोष दिएका छन्।

यसैबीच ह्वाइट हाउसले भने राष्ट्रपति जो बाइडनले आगामी चुनावमा पुनः उम्मेदवारी दिनसक्ने बारे बलियो सङ्केत दिएको छ।

अमेरिकी तल्लो सदनको लागि भएको निर्वाचनमा भने अन्तिम नतिजा स्पष्ट भैसकेको छैन।

अमेरिकी कंग्रेसको तल्लो सदनमा रिपब्लिकनहरू जित्ने आकलन गरिएको छ जसले राष्ट्रपति जो बाइडनको योजनाहरूलाई गम्भीर रूपमा असर पार्छ। तर मतगणना जारी रहँदा उनीहरूले पहिले अनुमान गरे अनुसार प्राप्त गर्ने ठानेका बहुमतको अपेक्षा भने साँघरिँदै जाने सम्भावना छ।

अघिल्लो साताको अन्त्यमा अमेरिकी समाचार नेटवर्कहरूले डेमोक्र्याट दलले एरिजोना र नेभाडामा दुई वटा सीटहरू जितेसँगै माथिल्लो सदन सिनेटमा नियन्त्रण कायम राख्ने प्रक्षेपण गरेका थिए।

ट्रम्पका कारण हामीले बेहोर्नु परेको यो लगातार तेस्रो चुनावी हार हो,ू पूर्व राष्ट्रपतिको लामो समयदेखि आलोचक रहेका मेरिल्यान्डका रिपब्लिकन गभर्नर ल्यारी होगनले आइतवार सीएनएनलाई भनेका थिए।

उनले भनेका थिए, हामी जितेर थाक्नेछौँ। तर म हारेर थाकेको छु।ू

बीबीसीका उत्तर अमेरिकी संवाददाता एन्थ‍नी जर्चरका अनुसार ट्रम्पका सहयोगीहरू आगामी दिनमा उनको विरुद्धमा उभिन्छन् की उभिँदैनन् भन्ने कुरा नै वास्तविक परीक्षा हुनेछ।

ह्वाइट हाउसमा नियन्त्रण राख्ने दलले सामान्यतया मिडटर्म चुनावमा सीटहरू गुमाउँदै आएको इतिहास छ। र, डेमोक्र्याटहरूको यो चुनावी परिणाम २० वर्ष यता सत्ताको नेतृत्व गरिरहेको दलले ल्याएको सबैभन्दा राम्रो नतिजा हो।

वासिङ्टनका जानकारहरूले इतिहासको हवाला दिँदै हामीले जित्न नसक्ने बताएका थिए, सभामुख न्यान्सी पलोसीले एबीसीको एक कार्यक्रममा बताइन्।

तर डेमोक्र्याटहरूले कहिल्यै पनि भविष्यवाणी स्वीकार गरेनन् र आफू र आफ्ना विपक्षीहरू बीचको भिन्नता मा केन्द्रित रहेको क्यालिफोर्नियाकी ति वरिष्ठ डेमोक्र्याटले बताइन्।

पलोसी दलका सीमित अधिकारीहरू मध्ये एक हुन् जसले राष्ट्रपति बाइडनलाई सन् २०२४ मा हुने पुनः चुनावको निम्ति समर्थन जनाएका छन्।

ह्वाइट हाउसकी वरिष्ठ सल्लाहकार अनिता डनले अर्को पक्षले के गरिरहेको छ वा अर्को उम्मेदवारले के गर्ने छन् भन्ने कुराले राष्ट्रपति प्रभावित नभएको र छिट्टै आफ्नो निर्णय घोषणा गर्ने सीबीएस न्यूजसँग बताइन्।

उनले मिडटर्म नतिजाहरू दलको एजेन्डाको लागि अत्यधिक महत्त्वपूर्ण परिणामू भएको र यस चुनावमा “दलले गरेको प्रगतिलाई जारी राख्नको लागि आफू सबैभन्दा उचित व्यक्तिू हो भन्ने बाइडनको विश्वास रहेको जानकारी दिइन्।

यदि बाइडनले उम्मेदवारी दिए भने उनको चुनावी प्रतिस्पर्धा सन् २०२० मा जस्तै ट्रम्पसँग हुने सम्भावना छ। ट्रम्पले सन् २०२४ को लागि आफ्नो उम्मेदवारी मङ्गलवार औपचारिक रूपमा घोषणा गर्ने अनुमान गरिएको छ। बीबीसी