दुई हजार मतान्तरले चुनाव जित्छु: विश्वराज बम



कालिकोट। कालिकोट प्रदेश (ख) का उम्मेदवार विश्वराज बमले दुई हजारभन्दा धेरै मतान्तरले विजयी हुने दाबी गरेका छन्।

आइतबार नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ र ९ का सक्रिय कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा बमले उक्त दाबी गरेका हुन्।

नेकपा (एकीकृत समाजवादी) कालिकोटका अध्यक्षसमेत रहेका बमले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिन र कालिकोटको समग्र विकासको निम्ति यहाँका जनताले मतदान गर्ने विश्वास व्यक्त गरेका छन्।

नेता बमले बाटो, घाटो, पुल पुलेसा, स्वास्थ,शिक्षा, रोजगार, कृषि, उत्पादन, पर्यटन र खेलकुद क्षेत्रको विकासका निम्ति कालिकोट प्रदेश (ख) का जनताले एकीकृत समाजवादी पार्टीको चुनाव चिन्ह कलममा मदान गर्ने दाबी गरे।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य तुलराज सिम्खडाले कालिकोटको विकासका निम्ति आफूहरूले काम गरेको तर, प्रचार नपुगेको टिप्पणी गरेका छन्।

उनले भने, ´हामीले समाजवाद स्थापनार्थ धेरै काम गर्नुपर्ने छ। सबैभन्दा पहिले त स्वास्थ र शिक्षामा हामीले काम गर्नुपर्ने छ। केही काम हामीले गरेका छौं। बाँकी पुरा गर्नका निम्ति पनि हाम्रा उम्मेदवारलाई जिताउन जरुरी छ। मेरो पहलमा राष्कोट कम्युनिटी हस्पिटल खुलेको छ। सुनथराली विमान स्थलका बारेमा यहाँकै साथीहरूको भूमिका बढि छ।´

त्यस्तै पार्टीका प्रदेश कमिटी सदस्य तथा चुनाव प्रचार प्रसार समितीका संयोजक धीरबहादुर बिष्टले गत स्थानीय तहको चुनावमा कांग्रेसले पराजित गरेको भन्दै त्यसको बदला स्वरुप यो निर्वाचन जित्नै पर्नेमा जोड दिएका छन्।

उनले भने,´गत स्थानीय निर्वाचनमा पनि गठबन्धन भएको थियो। समाजवादीको भागमा परेको थियो। तर, कांग्रेसले हामीलाई स्वीकार गरेन। हामीलाई पराजित गर्न भरपुर शक्ति खर्चिएको थियो। हामीले पनि यसपालि हाम्रा उम्मेदवार विश्वाराज बमलाई जिताउन भरपुर प्रयास गर्नुपर्ने भयो। संयोग भन्नुपर्ला स्थानीय तहको चुनावमा हाम्रो बागी कांग्रेस बन्यो। अहिले हामी। राजनीतिमा यस्तै हो।”

नरहरिनाथ गाउँपालिका अध्यक्ष हुँदा आफूले गरेका राम्रा कामको प्रचार प्रसार नभएको र घेराबन्दी पारेर आफूलाई पराजित गरेको बताउदै बिष्टले अधुरा काम गर्नका निम्ति एकीकृत समाजवादी पार्टीलाई भोट दिन आग्रह गरेका छन्। त्यस्तै माओवादी केन्द्रका स्थानीय नेता कर्मजित रावल समाजवादी पार्टीमा समाहित भएका छन्।

प्रशिक्षण कार्यक्रममा प्रतिनिधिसभा समानुपातिक तर्फकी उम्मेदवार तथा केन्द्रीय सदस्य विजया बिष्ट, जेष्ठ कम्युनिस्ट मन्चका केन्द्रीय सदस्य कालो सार्की, प्रदेश कमिटी सदस्य चन्दबहादुर शाही, प्रदेशसभा समानुपातिक तर्फकी उम्मेदवार दुर्गा शाही न्यौपाने, केन्द्रीय प्रचार विभाग सदस्य धनराज वास्तविक, जिल्ला कमिटीका सहसचिव दानबहादुर सहकारी, कार्यालय सचीव अमित शाही, युवा संघका केन्द्रीय सदस्य राजेन्द्र बिष्टलगायतको उपस्थिति रहेको थियो।