कालिकोट। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कालिकोटले प्रदेश (ख) का उम्मेदवार विश्वराजलाई जिताउन पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने भएको छ। मतदान गर्न सम्पूर्ण कालिकोटबासीहरुमा अपिल गर्ने निर्णय गरेको छ।
शुक्रबार सम्पन्न जिल्ला कमिटीको नवौं बैठकमार्फत पार्टीले उक्त निर्णय गरेको हो। जिल्लाको प्रदेशसभा (ख) मा प्रत्यक्षतर्फका उम्मेदवार एवं पार्टी अध्यक्ष बम र संघीय समानुपातिक उम्मेदवार विजया बिष्ट र प्रदेशसभा समानुपातिक उम्मेदवार दुर्गा शाही न्यौपानेलाई कलम चिन्हमा मतदान गर्न कालिकोटबासीलाई आग्रह गरेको छ। त्यस्तै अध्यक्ष बमको नेतृत्वमा वार्ता र सम्वाद जारी खाने, चुनावी सहकार्यका लागि प्रदेश (ख) मा मौन या खुल्ला सहमति गर्ने निर्णय गरेको पार्टी उपसचिव दानबहादुर सहकारीले जानकारी दिएका छन्।
शुक्रबार सम्पन्न बैठकले प्रदेश कमिटी सदस्य धीरबहादुर बिष्ट)लाई प्रदेश (ख) को चुनावी कमान्डर तोकेको छ। कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्यहरु तुलाराज बिष्ट, तुलाराज सिम्खाडा र बिजया बिष्टका साथै प्रदेश कमिटी सदस्य एवम् जिल्ला कमिटी उपाध्यक्षद्वय चित्रसिंह गाउँले र कमलबहादुर शाही, प्रदेश कमिटी सदस्य मनिराज बराल, धीरबहादुर बिष्ट, चन्द्रबहादुर शाही, दुर्गा शाही न्यौपाने, दन्त बहादुर बम, दानबहादुर विक लगायतले विकसित राजनीतिलाई ठोस् विश्लेषण गरेर अघि बढ्ने धारणा राखेका थिए।
बैठकले संविधान रक्षा, संसद बचाउने र लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिएको शक्तिलाई मतदान गर्न आफ्ना मतदातालाई अनुरोध गरेको छ।
बैठकले पूर्व प्रदेश मन्त्री एवम् पार्टी केन्द्रीय सदस्य कुर्मराज शाहीले एमालेबाट उम्मेदवारी दर्ता गरेकोमा पार्टी पङ्तिलाई सामान्यसमेत क्षति नभएको निष्कर्ष निकालेको छ। साथै उनलाई कारबाही गर्ने निर्णय गरेको छ।