‘लाउडा, धमिजा काण्ड कांग्रेसकै पालामा भएका थिए’



काठमाडौँ। विवेकशील साझा पार्टी छाडेर राप्रपासँग एकीकरण गरेका रवीन्द्र मिश्रले आफूमा भन्दा नेपाली कांग्रेसमा बढी विचलन आएको टिप्पणी गरेका छन्।

विवेकशील साझा पार्टीको अध्यक्ष हुँदा ‘मार्ग परिवर्तन’ शीर्षकको दस्तावेज ल्याएपछि आफूमा विचलन आएको सार्वजनिक टिप्पणी भएको भन्दै मिश्रले कांग्रेसमा धेरै विचलन आएको दावी गरे।

‘मलाई पश्चगामी र प्रतिगामी के मात्र भनेनन्’, एकतापछि राप्रपाको वरिष्ठ उपाध्यक्ष बनेका मिश्रले भने, ‘नेपाली कांग्रेसका नेताहरुले ममा विचलन आएको भन्नुहुन्छ, २०४६ सालपछि कांग्रेसमा धेरै विचलन आयो कि म मा धेरै विचलन आयो?’ नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध गर्दा कांग्रेसकै सरकार रहेको भन्दै मिश्रले लाउडा, धमिजाजस्ता विमान काण्ड पनि कांग्रेसकै पालामा भएको दावी गरे।

कांग्रेसका नेता वीपी कोइरालाको आदर्श अहिले राप्रपाले बोकिरहेको मिश्रले बताए। ‘कांग्रेसको आदर्श हामीले बोकेका छौं, राष्ट्रिय मेलमिलापको नीति हामीले बोकेका छौं’ कांग्रेसले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराइलाई रुवाएर पार्टी छाड्न बाध्य बनाएको पनि मिश्रले टिप्पणी गरे।

विगतमा आफ्नै कार्यकर्तामाथि आक्रमण गर्ने नेकपा माओवादी केन्द्रसँग घाँटी जोडेको भन्दै उनले भने, ‘तपाईहरुले कार्यकर्ताको घाँटी रेट्नेसँग बढी समय बिताइरहनुभएको छ कि जनतासँग?’

तस्बिर: मुकुन्द बहादुर कालिकोटे