मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश



काठमाडौँ। असोज ११ गते मंगलबारदेखि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश हुने भएका छन्।

मंगलबारबाट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीश बन्ने भएका हुन्। आगामी असोज १५ गतेपछि ६५ वर्षको उमेर हदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि कामु प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको बागडोर हरिकृष्ण कार्कीले सम्हाल्नेछन्। यद्यपि अवकाश पाउनु अगाडि नै कामु प्रधानन्यायाधीश दीपककुमार कार्की तीर्थाटनका लागि भारत जाने भएपछि असोज ११ गतेदेखि नै हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले नेतृत्व सम्हाल्न लागेका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ। महाभियोगको टुङ्गो नलागेकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा छन्।

जबराको निलम्बनपछि ७ महिनाभन्दा बढी समय दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाले। यद्यपि महाभियोगको टुङ्गो नलागेकै कारण उनी प्रधानन्यायाधीश नबनी विदा हुन लागेका हुन्। असोज १६ गतेदेखि कार्की पूर्णरुपमा कामु प्रधानन्यायाधीश बन्नेछन् भने विश्वम्भरप्रसाद श्रेष्ठले वरिष्ठतम् न्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन्।