बाबुरामजी र म मिलेर समाजवादका लागि नयाँ ‘जनयुद्ध’ गर्छौं : अध्यक्ष प्रचण्ड



काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेको जानकारी दिएका छन्।

दुई पार्टी चुनावका लागि मात्र नभएर समाजवादको नयाँ मोडल दिनका लागि एकै ठाउँ उभिएको उनले बताएका हुन्। यो मोडल २१ शताब्दीको समाजवादको मोडल हुने प्रचण्डको जिकिर छ।

नेपाल समाजवादी पार्टीद्वारा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘केही महिनादेखि बाबुरामजी र म निरन्तर छलफलमा थियौँ । नेपालमा फेरि युगलाई सन्देश दिने गरी समाजवादको नयाँ क्रान्तिको आधारशिला खडा गर्न सक्छौँ कि सक्दैनौँ भनेर हामीले छलफल गर्यौं। त्यतिबेला जनयुद्धको तयारीका दिन स्मरण गर्‍यौँ र समाजवादका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेपछि एक ठाउँमा केन्द्रित हुने निर्णय गर्‍यौँ।’

‘बाबुराम–प्रचण्ड मिल्दा १ प्लस १ दुई मात्र हुने होइन, यसको महत्त्व ठुलो हुन्छ,’ उनले थपे, ‘हामी एक अर्काका पूरक हौँ। हामी परिवर्तनका वाहक हौँ। अब हामीहरू समाजवादको नयाँ मोडल दिन्छौँ ।’ संविधानको घोषणापछि आफू र बाबुराम भट्टराईले एमालेसँग एकता र नयाँ शक्तिको स्थापना गर्ने दुश्साहासिक प्रयोग गरेको बताउँदै तीन दुवै प्रयोग असफल भएको स्वीकार गरे।

‘यी प्रयोग गर्दा हाम्रो उद्देश्य जति सुकै राम्रो र ठुलो भए पनि सफल हुन सकेन। घटनाक्रमले के साबित गर्‍यो भने हामी अलग–अलग प्रयोग गर्न हिँड्दा माओवादी जनयुद्ध, त्यसको ऐतिहासिक भूमिका, त्यसले स्थापित गरेका मूल्य मान्यताहरू, त्यसले ल्याएका परिवर्तनहरू धरापमा पर्ने खतरा देखायो। प्रतिक्रियावादी, बर्जुवाहरुले माओवादी आन्दोलनका नेता–कार्यकर्ताहरूलाई अपमानित गर्ने र यसका उपलब्धिहरू उल्ट्याउन अनेक खालाका कसरतहरू गर्ने बीचमा देखा परे।’

उनले यी घटनाहरूको समीक्षा गर्न आवश्यक देखिएको बताउँदै यसको समीक्षा नगर्ने हो भने युगान्तकारी आन्दोलनका उपलब्धिहरू नै उल्टिने र देश फेरि अराजकतातिर जाने खतरा सबैले महसुस गरेको बताए। ‘यो परिवर्तन ल्याउन जसले विचार र राजनीतिक दृष्टिकोणको नेतृत्व गर्‍यो उनीहरू अलग–अलग हुँदा प्रतिक्रान्ति र प्रतिगमनले टाउको उठाउने प्रत्यक्ष महसुस गर्‍यौँ,’ उनले भने, ‘प्रचण्ड–बाबुराम दुईवटा नाम भएर मात्र परिवर्तन आएको होइन। नेपाली जनताले ठुलो बलिदान र त्यागबाट पैदा गरेका नाम हुन् यी। इतिहासले पैदा गरेको नेतृत्व अलग हुँदा आन्दोलन नै धक्का खाँदो रहेछ भन्ने तितो मार्मिक यथार्थ भोगिरहेका छौँ।’