विराटनगर। नेपाली कांग्रेसका नेता महेश आचार्य राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमले संवैधानिक संकट उत्पन्न भएको बताएका छन् ।
नेपाली कांग्रेस प्रदेश(१ संसदीय दलको स्मारिका विमोचन गर्दै उनले राष्ट्रपति भण्डारीको कदमले गम्भीर संकट उत्पन्न भएको बताएका हुन्। उनले भने, ‘संविधानले दिएको निश्चित अधिकारलाई राष्ट्रप्रमुखले पालना नगर्नुले गम्भीर संकट उत्पन्न भएको छ। ‘
उनले संसदबाट पारित भएको नागरिकता विधेयकमा भएका भन्दा पनि नभएका विषयलाई बाहिर उचालिएको गुनासो गरे । उनले भने, ‘दलको राजनीतिक स्वार्थका कारण लाखौं नागरिक नागरिकता पाउनबाट बञ्चित भएको छ । ‘
पहिलो संसदको अभ्यासमा प्रदेश १ ले नाम दिन नसकेपनि संसदीय अभ्यास राम्रो गरेको उनले बताए । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले संसदमा पार्टीले खेलेको भूमिकाको विषयलाई समेटेर स्मारिका निकालिएको बताए । स्मारिका संसदीय अभ्यासमा नौलो भएको उनको भनाइ छ।
संसदीय दलका उपनेता हिमाल कार्कीले नयाँ संसदीय अभ्यासमा सुरुमा अन्योल भएपनि विस्तारै पार्टीले सशक्त प्रतिपक्ष हुँदै सत्तापक्षको भूमिका निर्वाह गरेको बताए । कांग्रेस प्रमुख सचेतक सुयर्माराज राईले पहिलो संसदीय अभ्यासमा पार्टीले खेलेको भूमिकालाई रेकर्डमा राख्ने उदेश्यले स्मारिका निकालिएको बताए ।